आजको संसद विशेष हुने संकेत, मन्त्रीदेखि सभामुख दौडधूपमा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आजको संसद विशेष हुने संकेत, मन्त्रीदेखि सभामुख दौडधूपमा



काठमाडौं- प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो बस्दैछ। मंसिर २८ गते बोलाइएको बैठकमा ६ वटा अध्यादेश पेश भएका थिए। त्यसपछि एक हप्तासम्म बैठक स्थगित भएको थियो।

कार्यसूचीको विषय तय गर्न सभामुखले २८ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए त्यस्तै मंगलबारको बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक तय गर्नुअघि कानुनमन्त्री दिलेन्द्र बडुले सोमबार सभामुखलाई भेट गरेका थिए।

कार्य व्यवस्था समितिको बैठक बोलाइए पनि मंगलबारको सम्भावित कार्यसूचीमा दुई अध्यादेश मात्रै स्वीकृत गर्ने विषय राखिएको छ। जसमा यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश मात्रै स्वीकृत गर्ने तयारी छ। तर कार्य व्यवस्था परामर्श समितिको बैठकपछि अन्य विषय पनि प्रवेश हुनसक्ने संसद् सचिवालयले बतायो। अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयमा कार्य व्यवस्थामा छलफल हुनसक्ने स्रोतको भनाइ छ।

आइतबार बोलाइएको सर्वदलीय बैठकपछि मंगलबारको संसद बैठकमा एमसिसीको अजेण्डा पेश हुने नहुने अनिश्चित भएको थियो। सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले एमसिसी संशोधनको माग गरेका थिए। नेपाली कांग्रेसका नेताहरू रामचन्द्र पौडेल र रामशरण महत तथा संघीय समाजवादीका बाबुराम भट्टराईले एमसीसी संसद्बाट पारित गर्नुपर्ने पक्षमा धारणा राखेका थिए। राष्ट्रिय जनमोर्चा र राप्रपाले नेपाल, मजदुर किसान पार्टीले विरोधमा धारणा राखेका थिए।

सर्वदलीय बैठकअघि एमसिसीबारे गठबन्धनको साझा धारणा बनाउन सरकारमा सहभागी दलहरूको छुट्टै बैठक पनि बसेको थियो। कांग्रेसले भने एमसिसी जसरी पनि पारित गर्ने तयारी गरिरहेको छ। यता सोमबार दिनभर भने एमसिसीका विषयमा निकै टिका टिप्पणी भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीमा एमालेले कांग्रेसलाई सहयोग गरेर गठबन्धन टुटाउन खोजेको बताएका थिए। एमालेले अहिलेको गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने, एमसीसी पास गर्न सहयोग गर्ने जस्ता प्रस्ताव राखेको उनले बताएका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी आर्थिक सहयोगको विषय मात्र बन्नुपर्ने बताएका थिए। भने जसपाका डा. बाबुराम भट्टराईले एमसिसीमा साझा धारणा नभए गठबन्धन टुट्ने बताएका थिए। एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने एमसिसी आवश्यक रहेको बताएका थिए।