सांसदलाई बिदाई गर्दै ओलीको निर्देशन: अब गठबन्धनको भण्डाफोर गर्नुहोस् - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

सांसदलाई बिदाई गर्दै ओलीको निर्देशन: अब गठबन्धनको भण्डाफोर गर्नुहोस्



काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ। एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गरेको हो।

शुक्रबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिए।

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका थिए। अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई बहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गरेका थिए।

‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर हामीले प्रतिनिधि सभाका सांसदहरुलाई यहाँबाट बिदाई गरेका छौँ,’ भट्टराईले भने, ‘अब दत्तचित्त भएर सन्निकट निर्वाचनमा नेकपा (एमाले) लाई बहुमत दिलाउनका लागि सशक्त भूमिकाका साथ अगाडि बढ्न संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशन गर्नुभएको छ।’

अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भूमिकाप्रति सांसदलाई धन्यवाद ज्ञापन गरेका थिए।