अमेरिकाले भन्यो: एमसीसीका बुँदा सच्चाउन सकिन्न - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अमेरिकाले भन्यो: एमसीसीका बुँदा सच्चाउन सकिन्न



काठमाडौँ- अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको नेपाल अनुदान सम्बन्धी सम्झौतामा कुनै परिवर्तन गर्न नसकिने राजदूत र्‍याण्डी बेरीले बताएका छन् ।

यथास्थितिमा पारितका लागि लबिङ गर्न एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आइरहेका बेला नेपालस्थित अमेरिकी राजदूतले संशोधित सम्झौता अमेरिकालाई मान्य नहुने बताएका हुन्।

ब्रुक्सले राजधानीमा नेकपाका नेता एवं एमसीसीका पदाधिकारीसँगको भेट तीव्र पारिरहेका बेला बेरीले पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा यस्तो अभिव्यक्ति दिएका हुन्।

करिब तीन सय जना सहभागी उक्त सम्मेलनमा एक जनाले सोधेको प्रश्नको जवाफ दिँदै बेरीले एमसीसी सम्झौता संशोधन गरिएमा त्यो अमेरिकालाई मान्य नहुने अभिव्यक्ति दिएका थिए।

खासगरी सत्तारुढ नेकपामा एमसीसी सम्झौतालाई लिएर नेताहरु विभाजित भएपछि यही माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट एमसीसी अध्ययन कार्यदल गठन गरिएको छ।

नेकपाका नेता भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य सम्मिलित पूर्वप्रधानमन्त्री समेत रहेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले एमसीसी सम्झौताका प्रावधानहरु अध्ययन गरिरहेका बेला बेरीबाट आएको यो अभिव्यक्तिले थप विवाद उत्पन्न गर्ने आँकलन गरिएको छ।