‘राजनीतिक स्थिरताका लागि विदेशी हस्तक्षेप बाधक’ बन्दै - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

‘राजनीतिक स्थिरताका लागि विदेशी हस्तक्षेप बाधक’ बन्दै



हिमाल पोष्ट / काठमाडौँ, १७ मङ्सिर । वैदेशिक हस्तक्षेप भएसम्म मुलुकको राजनीति अस्थिरता अन्त्य नहुनेमा विभिन्न पार्टीका नेता र बुद्धिजीवीले जोड दिएका छन् ।

नेपाल अध्ययन तथा अनुसन्धान केन्द्रले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले राजनीतिक परिवर्तनपछि आन्दोलनकारी शक्तिबीच लामो सहकार्य हुन नसक्नाले आर्थिक समृद्धिमा प्रत्यक्ष असर परेको बताए ।

सो अवसरमा नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले विदेशी हस्तक्षेप, राजनीतिक प्रणाली र नेतृत्वमा रहेका कमजोरी सच्याएर क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न प्रमुख शक्तिबीचको सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले संविधानको पूर्ण कार्यान्वयन नहुँदै संशोधन प्रस्ताव आउनाले ‘खुट्टामा नलगाई जुत्ता फेर्ने’ काम भएको टिप्पणी गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालका स्रोत साधनको सदुपयोग नभएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाल सद्भावना पार्टीका सचिव मिर्जा अर्साद वेग, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, बुद्धिजीवी डा कृष्णबहादुर भट्टचन, प्रा डा श्रीधर गौतम, डा चन्द्रा भद्रा, सलिम खान, चतुर्भुज केरवतलगायतले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि निःस्वार्थ भावनाका साथ सबै क्षेत्रबाट योगदान हुनुपर्नेमा जोड दिनुभयो । रासस