समानुपातिक बन्दसूचीमा रहेका ३८५ जनाको उम्मेदवारी चैट
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण शनिबारसम्म नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको हो ।
दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने मौका दिएको थियो । समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले जरिवाना तिर्ने बढीमा ५४ जना मात्रै रहेको बताए ।
बन्दसूचीमा रहेकामध्ये ३२ जनाले कात्तिक १ सम्म जरिवाना तिरेका थिए । बुधबारदेखि शनिबारसम्म २२ जनाले जरिवाना बुझाएका छन् । ‘२२ जना नै समानुपातिकको बन्दसूचीमा रहेका व्यक्ति भए ४ सय ३९ मध्ये ५४ जनाले मात्रै जरिवाना तिरेका छन्,’ उनले भने, ‘जिल्ला निर्वाचन कार्यालयमा पनि जरिवाना तिर्ने व्यवस्था छ । जिल्लाको विवरण आएपछि नाम यकिन हुनेछ ।’ वाग्लेले शनिबारसम्म जरिवाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने बताए ।
दलले बुझाएको बन्दसूचीको क्रमसंख्याको अगाडि नै नाम भएकाले जरिवाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेको आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचन खर्च नतिर्ने १ लाख २३ हजारलाई जरिवाना तोकेको छ । उनीहरूलाई कम्तीमा ५० हजार र बढीमा ७ लाख ५० हजार जरिवाना तोकिएको हो ।