समाजवादी पार्टी सरकारसँग वार्तामा बस्ने
काठमाडौं- सत्ता साझेदार दल समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग गम्भीर असहमति व्यक्त गरेको छ ।
शनिवार बसेको पार्टी पदाधिकारी बैठकले सत्ता साझेदारसँग परामर्श नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेको लगायत विषयसँग असहमति जनाएको हो ।
‘प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रिमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं,’ बैठकले निर्णय गरेको छ ।
पार्टी प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सरकारका असहमति र पार्टीसँग भएको २ बुँदे सहमति कार्यान्वयन सम्बन्धमा नेकपासँग वार्ता गर्ने निर्णय समेत भएको बताए । उपप्रमुख पाण्डेद्वारा सार्वजनिक निर्णयमा उल्लेख छ, ‘असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।’
वार्ता समितिमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
प्रधानमन्त्री ओलीले अध्यक्ष यादवलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानून मन्त्रालयमा लगेपछि पार्टीमा असन्तुष्टि देखिएको थियो । मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रधानमन्त्रीले समाजवादी पार्टीका स्वास्थ्य राज्यमन्त्री समेत हटाएका छन् ।