सल्यानमा एकै घरका पाँच जनामा कोरोना जस्तै लक्षण देखिएपछि अस्पताल भर्ना - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

सल्यानमा एकै घरका पाँच जनामा कोरोना जस्तै लक्षण देखिएपछि अस्पताल भर्ना



सल्यान– एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कका एकै घरका पाँच जनामा यस्तो समस्या देखिएको हो ।

कोरोनाकै जस्ता लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो ।

भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो ।

उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि राति सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो ।

जिल्ला अस्पताल सल्यानको आइसोलेशन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

सवैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको बताइएको छ ।