सलमान खान फेरी सङ्कटमा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सलमान खान फेरी सङ्कटमा



बलिउडका सुपरस्टार सलमान खानको आउँदो फिल्म ‘दबंग–३’को सुटिङ संकटपूर्ण अवस्थामा पुगेको छ।

अहिले भारतको मध्यप्रदेशमा भइरहेको फिल्मको सुटिङका दुई सेट हटाउन पुरातत्व संरक्षण विभागले आदेश दिएपछि दबंग–३ को सुटिङ संकटपूर्ण अवस्थामा पुगेको हो।

भारतीय पुरातत्व विभागले सलमान र निर्माण युनिटका नाममा पत्र पठाएर मध्यप्रदेशको मान्डुस्थित ऐतिहासिक जल महलमा बनाइएका दुई सेट हटाउन आदेश दिएको हो। पत्रमा आदेशको पालान नगरे सुटिङ नै रोकिदिने चेतावनी समेत दिइएको छ।

निर्माण युटिनलाई यो कुरा पहिल्यै बताइएको भए पनि कुनै कदम नचालेपछि विभागले नयाँ कदम चालेको जनाइएको छ। निर्माण पक्षले हवा महलमा सेट बनाएर प्राचीन स्मारक र पुरातत्व स्थल र अवशेष अधिनियम १९५९ उल्लंघन गरेको विभागले आदेशमा जनाएको छ।

यसका अलावा नर्मदा नदी किनारामा रहेको प्राचीन मूर्तिमा क्षति पुराएको आरोप पनि विभागले लगाएको छ। सेट हटाउने बेला उक्त मुर्तिमा क्षति पुगेको एक प्रत्यक्षदर्शीले बताएका छन्।

मध्यप्रदेशकी संस्कृतिमन्त्री विजयलक्ष्मी साधोले निर्माण युनिटले गलत गरेको प्रतिक्रिया दिएकी छन्। उनले आफू सम्बन्धित स्थलमै पुगेर जाँचबुझ गर्ने र गलत गरेको पाइएमा कारबाही गर्ने बताएकी छन्।

प्रभु देवाको निर्देशनमा बन्दै गरेको दबंग ३ मा सलमान र सोनाक्षी सिन्हा प्रमुख भूमिकामा छन्। यो फिल्म यही डिसेम्बरमा प्रदर्शनमा आउने बताइएको छ।