शालीकराम कि पत्निले दिईन लामिछाने विरुद्ध प्रहरीमा किटानी जाहेरी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

शालीकराम कि पत्निले दिईन लामिछाने विरुद्ध प्रहरीमा किटानी जाहेरी



काठमाडौं– माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाण्डुमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएको पुडासैनीका छिमेकी गोकर्ण न्यौपानेले बताए । शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिइएको परिवारले जनाएको छ ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने समर्थकले भरतपुरमा जम्मा भएर उनीहरुमाथि छानबिन र कारबाही नगर्न दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरुले जिल्ला प्रहरी कार्यालयमा समेत तोडफोड र ढुंगामुढा गरेका छन् ।