सालह बिनाको इजिप्टले कोलम्बियालाई रोक्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सालह बिनाको इजिप्टले कोलम्बियालाई रोक्यो



स्टार खेलाडी मोहम्मद सालह बिना नै इजिप्टले विश्वकप फुटबलका लागि अभ्यासलाई निरन्तरता दिएको छ ।

गएको शनिबार युक्रेनको राजधानी किएभमा भएको च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएर सालह अहिले मैदान बाहिर छन् । सालहको टिम लिभरपुल फाइनलमा रियल मड्रिडसँग ३–१ ले पराजित भएको थियो ।

इजिप्टले सालह बिना अभ्यास खेल खेलेको छ । १२ दिनपछि रुसमा सुरु हुने विश्वकप फुटबलको अभ्यासका लागि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार राति इजिप्टले कोलम्बियासँग गोल रहित बराबरी खेलेको छ ।

इटालीमा भएको खेलमा बलियो मानिएको कोलम्बियासँग सालह बिना नै गोल रहित बराबरी खेलेको हो । दोस्रो हाफमा इजिप्ट दबाबमा परेको थियो ।

विश्वकपका लागि समूह एच मा रहेको कोलम्बियाले आफ्नो पहिलो खेलमा जुन १९ मा जापानसँग खेल्ने छ । यो समूहमा सेनेगल र पोल्याण्ड पनि छन् ।

यस्तै इजिप्टले आउँदो बुधबार बेल्जियमसँग अभ्यास खेल खेल्ने छ । विश्वकपका लागि समूह ए मा रहेको इजिप्टले आफ्नो पहिलो खेलमा जुन १५ मा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहमा रुस र साउदी अरेबिया पनि छन् ।