साझा पार्टीले भन्यो: प्रदेश प्रमुखलाई पदमुक्त गर्नु गैर-राजनीतिक - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

साझा पार्टीले भन्यो: प्रदेश प्रमुखलाई पदमुक्त गर्नु गैर-राजनीतिक



काठमाडौं : प्रदेश प्रमुखलाई पदमुक्त गर्नु गैर-राजनीतिक कदम भएको भन्दै साझा पार्टीले टिप्पणी गरेको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारको निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको भएको उल्लेख गरिएको छ ।

प्रदेश प्रमुखलाई पदमुक्त गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली कांग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो।’

साझाले सरकारको रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन नसक्ने धारणा राखेको छ । ‘दुई-तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन गर्नुपर्ने अनगिन्ति कामहरू छन्’ विज्ञप्तिमा भनिएको छ, ‘तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरी ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय हो।’

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त भएका हुन्।