सैनामैनाका संस्थाहरुद्वारा औद्योगिक व्यापार महोत्सवलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

सैनामैनाका संस्थाहरुद्वारा औद्योगिक व्यापार महोत्सवलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता



नरेश चौधरी
सैनामैना, कार्तिक ७ । सैनामैनाका संस्थाहरुले औद्योगिक व्यापार महोत्सवलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सैनामैना उद्योग वाणिज्य संघले कार्तिक २९ देखि मङ्सिर १० गतेसम्म सैनामैनाको मुर्गियामा गर्ने दोस्रो राष्ट्रिय सैनामैना, कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७४ को पूर्व सन्ध्यामा मंगलवार सैनामैना क्षेत्रका सामुदायिक वन र मठ मन्दिरका अध्यक्ष तथा पदाधिकारीहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।

सो अवसरमा बोल्दै सामुदायिक वनका अध्यक्षहरुले महोत्सव सैनामैनामा आयोजना हुने भएकोले आफूहरुको समेत प्रतिष्ठासंग जोडिएको र यसका लागि आर्थिक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन ।
सो अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका उपाध्यक्ष ज्ञानवहादुर सोमरे मगर, सैनामैना सामुदायिक वन संजालका अध्यक्ष दिपक थापा र सहसंयोजक लक्ष्मी रानाले महोत्सवले समग्र सैनामैना क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने भएकोले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ।

यसैगरी संघले मंगलवार आजै सैनामैना क्षेत्रमा रहेका मठ मन्दिरका अध्यक्षहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ । सो अवसरमा मठ मन्दिर तथा धामका अध्यक्षहरुले महोत्सवको सफलताका लागि आफूहरुले सहयोग गर्ने बाचा गर्दै महोत्सवमा धार्मिक झाँकी प्रदर्शन गर्ने प्रतिवद्धता जनाएका छन् ।

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामवली चौधरी, नवदुर्गा मन्दिर मुर्गियाका अध्यक्ष तिर्थ भुसाल, रानीवगिया नवदुर्गा मन्दिरका अध्यक्ष क्या. रणवहादुर ढेगा मगर, भैरवस्थान मन्दिर मुर्गिया ३ का अध्यक्ष सुनवहादुर पुन र सत्चिन्तन सामुदायिक प्रतिष्ठान कलौनीका अध्यक्ष बुद्धिराम न्यौपानेले महोत्सव सफल वनाउन भजन किर्तन मण्डलीका साथै धार्मिक झाँकी तथा ¥यालीको आयोजना गर्ने प्रतिवद्धता जनाए ।

संघका अध्यक्ष राजवहादुर क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रियामा महासचिव रामप्रसाद अधिकारीले महोत्सवको उद्देश्य र उपादेयतामाथि प्रकाश पारेका थिए । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नारासहित हुने महोत्सवको तयारी तीव्र रुपमा भैरहेको छ भने अहिले स्टल बुकिङको काम धमाधम भैरहेको संघका अध्यक्ष राजवहादुर क्षेत्रीले जानकारी दिए ।