सहारा घरमा जनप्रतिनिधिको अट्वारी पर्व - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सहारा घरमा जनप्रतिनिधिको अट्वारी पर्व



विशाल पाण्डेय / घोडाघोडी ।
पश्चिम नेपालका थारु समुदायको प्रमुख मध्येको एक मौलिक सांस्कृतिक, धार्मिक पर्व अट्वारी पर्व सहारा घरमा मनाइएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका -२ मा रहेको असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरमा गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिले अट्वारी पर्व मनाएका हुन् ।

गौरीगंगा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवा, उप–प्रमुख अञ्चला चौधरी , वडा नं ८ का अध्यक्ष तुलाराम सापकोटा सहितका जनप्रतिनिधि तथा अन्य व्यक्तिहरुले सहारा घरका असहायलाई कोसेली ‘अग्रासन’ खुवाएका थिए ।

हरेक वर्ष भदौ शुक्ल पक्षको पहिलो आइतबार अट्वारी पर्व मनाइने चलन रहेको छ । उक्त पर्वमा थारु समुदायका पुरुषले दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने चलन रहेको गौरीगंगा नगरपालिकाका उप–प्रमुख अञ्चला चौधरीले बताइन् । अट्वारीको दिन दाइभाइले व्रत बसि सोमबार बिहानै पूजा गरेपछि खानाको सम्पूर्ण परिकार दाजुभाइलाई दिइन्छ । आफ्नो अगाडि राखिएको सम्पूर्ण खानाको परिकारबाट आधा भाग दिदीबहिनीका लागि छुट्याइने चलन रहेको हुँदा उक्त छुट्याइएको भाग आफुहरुले आज सहारा घरमा बाडेको उप प्रमुख चौधरीले बताइन् । आफुले सहारा घरको बारेमा पटकपटक सुनेपनी आउन नपाएको बताइन् । त्यहाँ पुगेर अवलोकन गर्न पाउँदा खुशी लागेको बताउदै उप प्रमुख चौधरीले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । उनले भनिन् , ” राज्यले गर्नुपर्ने काम , एकजना ब्यक्तिले गर्नुभएको छ । हामी सबै मिलि सहयोग गर्नुपर्छ ।”

गौरीगंगा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाले सहारा घरमा जान पाउँदा खुशी लागेको बताए । मानसिक रोगीहरुलाई आश्रय दिएर लालनपालन गरेकोमा सहारा घरका संचालक बल बहादुर बिष्टलाई धन्यवाद दिए । सहारा घरको सहयोगका लागि प्रदेश सरकारसंग पहल गरि गौरीगंगा नगरपालिकाबाट समेत सहयोग गर्ने नगर प्रमुख देउवाले बताए ।

यस्तै सहारा घरका संचालक बल बहादुर बिष्टले गौरीगंगा नगरपालिकाका जनप्रतिनिधि तथा सहभागीहरुलाई धन्यवाद दिए । उनले राज्यले गर्नु पर्ने कामलाई एकजना ब्यक्तिले गरिरहेको दुखेसो पोखे । उनले भने , ” विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले मानसिक रोगिहरुलाई सिफारिस गरि सहारा घरमा पठाएपनि उनिहरुको लालनपालनको लागि अहिलेसम्म सहयोग आएको छैन ।” सहारा घरमा मानसिक रोगिहरुको स्वास्थ परिक्षण गर्नुपर्ने हुँदा स्वास्थकर्मीको अभाव भएको बिष्टले गुनासो गरे ।

सहारा घरमा अहिले ५३ जना मानसिक रोगिहरु बसोबास गरिरहेका छन भने ५८ जनालाई परिवार मिलान गराइ घर फर्काइएको छ । गौरीगंगा नगरपालिकाको टोलिले सहारा घरमा खाद्यान्न समेत सहयोग गरेको छ । उनिहरुले चामल ,दाल लगायतका खाद्यान्न सामाग्री सहारा घरलाई सहयोग गरेका थिए ।