सहारा घरलाई भोजनालय हस्तान्तरण - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सहारा घरलाई भोजनालय हस्तान्तरण



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिका -२ मा रहेको असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरमा बनाइएको भोजनालय हस्तान्तरण गरिएको छ ।

सेन्चुरी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत करिब ५१ हजार लागतमा बनाइएको भोजनालय (ट्रस्ट) आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।

सेन्चुरी बैंकका क्षेत्रीय प्रबन्धक नारायण प्रसाद मुडभरिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती
बर्दगोरिया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष डगौराले सहारा घरको उन्नतिका लागि आफुहरुले विभिन्न योजनाहरु बनाएको बताउनु भयो । उहाँले बर्दगोरिया गाउपालिकालाई सुदुर पश्चिम् प्रदेश तथा नेपाल मै बर्दगोरिया धार्मिक क्षेत्र तथा सहारा घरले चिनाएको बताउनु भयो । अध्यक्ष थारुले आगामी गाँउ सभाबाट सहारा घरको स्तरउन्नतीका लागी डिपिआर तयारी गरी बाटो र नयाँ भवनका लागी पहल गर्ने बताउनु भयो । साथै अध्यक्ष थारुले राम्रो कामको सुरुवात आफैबाट गर्नु पर्ने बताउदै अरुको टीका टिप्पणी गर्ने मान्छे कायर रहेको बताउनु भयो ।

त्यस्तै अध्यक्षताको आसनबाट बोल्दै सेन्चुरी बैंकका क्षेत्रीय प्रबन्धक नारायण प्रसाद मुडभरिले एक व्यक्तीले यति ठुलो काम गर्नु महान कार्य भएको बताउनु भयो । उहाँले आफुले प्रत्यक्ष रुपमा नदेखेर नै सहारा घरमा भोजनालय निर्माण गरेको बताउदै सहारा घरको अवस्था एकदमै दयनिय रहेको बताउनु भयो । उहाले भन्नू भयो , आफुले नदेखेरै होटल ब्यवसायी भरत भट्टराईको पहलमा भोजनालय ट्रस्ट निर्माण गरियो अब आगामी दिनमा संस्थाको वा ब्यक्तिगत तर्फबाट ठुलो सहयोग गर्ने छु ।’ साथै मुडभरिले निमार्ण गरेको भोजनालयको तल फर्स नभएका कारण अब चाडै नै फर्स निमार्ण गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

सहारा घरका संचालक बल बहादुर विष्टले संचालन गर्नुभएको कार्यक्रममा महालक्ष्मी विकास बैंकका ललित जंग शाह , मिरमिरे माईक्रो फाईनान्स बौनिया शाखा म्यानेजर भिम बहादुर साउद लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सेन्चुरी बैंकका टिकापुर शाखा प्रबन्धक नगेन्द्र कोइराला ,महालक्ष्मी विकास बैंक बौनियाका हरिओम जोशी , पत्रकार लगायत अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

सहारा घरद्बारा सम्मान

असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरमा आज विभिन्न ब्यक्ति वा संस्थाहरुलाई सम्मान गरिएको छ ।

लामो समयदेखि विभिन्न कार्यहरुमा सहयोग गर्दै आइरहेका वशिस्ठ होटल सुखडका संचालन भरत कुमार भट्टराई ,मिरमिरे माईक्रो फाईनान्सका संयोजक टेक बहादुर बोहरा, मिरमिरे माईक्रो फाईनान्स लिमिटेड , महालक्ष्मी विकास बैंक लिमिटेड तथा सेन्चुरी बैंक लिमिटेडलाई प्रमाणपत्र दिई संचालक बल बहादुर विष्टले सम्मान गर्नुभएको थियो ।

३९ जनालाई परिवार मिलन

लामो समयदेखि सहारा घरमा बस्दै आएका दुई जनालाई सहारा घरले आज परिवार मिलान गराएको छ ।

गोदावरी नगरपालिका वडा नं १ विजयी नगरका पुष्कर जैरु र जानकी गाउपालिकाका प्रेमलाई परिवार मिलन गराएको हो । लामो समयदेखि घरबाट हराएका जैरुलाई त्यहाँ देख्दा उनको बुहारी सबिता जैरुले खुशिले सिमा नरहेको बताउनु भयो । आफुहरुले खोजी गर्दा कतै फेला नपरेपछि आसा मारेको बताउदै यहाँ देख्दा सपना जस्तो लागेको उहाले बताउनु भयो । उहाले भन्नू भयो , हामिले त मरिसक्नु भो भनेर काज क्रिया गर्ने तयारीमा थियौ ,तर अत्तरियाबाट यहाँ सहयोग गर्न आउदा नजिकैको चिनेको मान्छेले देखेपछि खबर गर्नुभयो र थाहा पाए लगत्तै यहाँ लिन आएका छौँ ।’

त्यस्तै अर्का जानकी गाउपालिका अवस्थित प्रेम नाम गरेका असायलाई घरमै पुगाएर परिवार मिलन गराएका छन । यसअघि पनि सहारा घरले ३७ जना गरि अहिलेसम्म ३९ जनालाई परिवार मिलन गराइसकेको छ ।

सहारा घरमा खानेपानी ,घेरबारको लागि तार जाली ,स्वास्थ परिक्षणको लागि स्वास्थकर्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको सहारा घरका संचालक बल बहादुर विष्टले हिमाल पोस्टलाई बताउनु भयो । सहारा घरमा हाल ४५ जना बेसहाराहरु रहेको संचालक विष्टले जानकारी दिनु भयो ।