अब सहकारी पनि सामाजिक सुरक्षा कोषमा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

अब सहकारी पनि सामाजिक सुरक्षा कोषमा



काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्। मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गरेका हुन्।

उनले सरकार र जनताको चाहना नै गरीबी तथा अभावबाट मुलुकलाई मुक्त गर्नु भएकाले श्रमिकको हकहितका लागि सुरक्षा कोषको सुरुआत गरिएको बताए। सहकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने अभियान चलाएको उल्लेख गर्दै उनले अब सामाजिक सुरक्षा कोष लागू गरेर सहकारीले सरकारलाई सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सहकारीमा काम गर्ने कर्मचारीको भविष्य सुरक्षित गर्न सहकारीलाई आबद्ध गराउन थालिएको बताए। साना किसान तथा सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक डा शिवराम कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले आफूहरु सहभागी हुन तयार रहेकाले पहिले सञ्चय कोषमा राखिएको आफूहरुको कोषका बारेमा स्पष्ट गराउनुपर्ने बताए।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) अध्यक्ष डिबी बस्नेतले सामाजिक सुरक्षा कोषले सहकारीमा काम गर्ने कर्मचारीले पनि निवृत्तिभरण पाउँछन् भन्ने गराउने भएकाले आबद्ध हुने बताए। राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कोषमा आबद्ध हुन आफूहरूले खोजे पनि केही प्रावधानका कारण हुननसकेको भन्दै ती प्रावधान सुधार गर्नुपर्ने बताए।

सरकारले गत वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा कोष घोषणा गरेर यही साउन १ गतदेखि देशभरि लागू भएको हो। कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार कोषमा अहिले १० हजार सङ्घ संस्थाका करीब एक लाख आठ हजार सूचीकृत भएका छन्। उनले सबै सहकारी संस्थालाई कोषमा आबद्ध हुनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

मुलुकभरि करीब ३५ हजार सहकारी रहेका छन्। कोषमा अहिले पाँच सय सहकारी सूचीकृत भइसकेका छन्। कोषमा सूचीकृत भएपछि ११ प्रतिशत रोजगारदाताबाट र २० प्रतिशत रोजगारदाता संस्थाबाट रकम जम्मा हुने गर्दछ। कोषमा सूचीकृत हुनका लागि आगामी मंसिर १४ गतेसम्म समय तोकिएको छ।