नेपालीको कम्पनीमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपालीको कम्पनीमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी



वासिङ्टन डिसी- अमेरिकामा नेपालीले स्थापना गरेको सामाजिक सञ्जाल सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। सगुन र एचटी ओभरसिज प्रालिबीच लगानी सम्बन्धी सम्झौता भएको हो। एचटी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एचटी मिडिया लिमिटेड (एचटी मिडिया) को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।

एचटी सिंगापुरसँगको सम्झौताले सगुनलाई करिब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच पुग्ने कम्पनीले विश्वास लिएको छ। सगुनको दक्षिण एसियाली बजारको एक हिस्साका रुपमा रहेको भारतीय बजारमा पहुँच बढाउन यो सम्झौताले सहयोग पुग्ने सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले बताए। एचटी मिडिया अन्तर्गत अंग्रेजी माध्यमका हिन्दुस्तान टाइम्स तथा मिन्ट र हिन्दीमा हिन्दुस्तान प्रकाशित हुँदै आएको छ भने अन्य डिजिटल माध्यम र एफएम स्टेसन पनि छन्।

सगुनले आफ्नो नवीन प्रयोग अन्तर्गत ‘सोसल स्मार्ट कार्ड’को विकासलाई निरन्तरता दिँदै सन् २०१८ को अन्त्यसम्म बजारमा ल्याउने लक्ष्य लिएको छ। यो कार्डको सहयोगबाट बजारमा सामान किन्दा पैसा कमाउन सकिने, कुपन देखाएर छुट पाउन सकिने र आफ्ना प्रियजनलाई उपहार दिन सकिने कार्यकारी अधिकृत गिरीले जनाए।

सगुनले यसै वर्ष आइओएस एप जारी गर्नेगरी काम अघि बढाएको छ। ३ सय अर्ब डलरको सोसल कमर्स बजारमा सोसल स्मार्ट कार्ड र आइओएस एपले आमूल परिवर्तन ल्याउन सक्ने सगुनको विश्वास छ।

सगुनका कार्यकारी अधिकृत गिरीले भने, ‘हामी एचटी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा खुसी छौं। हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ता भएको भारतमा बिस्तारित हुन मद्दत गर्नेछ।’

सगुनले यसै वर्षको जनवरीमा एन्ड्रोइड मोबाइल एप सुरु गरेको थियो। २ महिनामा सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भइसकेको छ।

एन्ड्रोइड र वेब गरी सगुनका कुल १६ लाख प्रयोगकर्ता पुगिसकेको गिरीले जानकारी दिए। अहिले उपलब्ध सामाजिक सञ्जालमा भन्दा फरक अनुभव खोजिरहेका २ अर्ब ८० करोड प्रयोगकर्तामाझ सगुन प्रयोगकर्ताको हिस्सा बढिरहेको उनले बताए।

हिन्दुस्तान टाइम्सको लगानी टिमका प्रमुख अतिभ चड्डाले भने, ‘हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्तालाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो। आममानिसले सामाजिक सञ्जाल मार्फत कनेक्ट, सेययर तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामी विश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा उत्साहित छौं।’

सन् २००९ मा सर्च इन्जिनका रुपमा सगुनले इन्टरनेटमा सेवा सुरु गरेको हो। नेपालीले अमेरिकामा स्थापना गरेको कम्पनी सगुनले सन् २०१४ देखि समाजिक सञ्जालका रुपमा आफूलाई नयाँ प्रस्तुतिका साथ विकास गरिरहेको छ।