निर्वाचन आयोगले भन्यो : सागर ढकाललाई प्रचारप्रसारमा अवरोध नगर्नु - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

निर्वाचन आयोगले भन्यो : सागर ढकाललाई प्रचारप्रसारमा अवरोध नगर्नु



काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न प्रशासनले नदिएको भन्नेबारे विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको अवगत गराएको जानकारी दिएको छ।

नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पधात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गरिएको छ। नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानूनको अधीनमा रही आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता र मितव्ययिता कायम गर्दै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गरिरहेको छ ।

निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न तथा निर्वाचनमा खटिएका कर्मचारी अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न आयोगले प्रचलित कानूनबमोजिम आज ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको अवगत गराइन्छ।’

स्वतन्त्र उम्मेदवार ढकालले प्रशासनले डडेल्धुरामा आफूलाई सामान्य तरिकाले चुनाव प्रचारप्रसारसमेत गर्न नदिएको तर गठबन्धनको तर्फबाट उम्मेदवार रहेका प्रतिस्पर्धी देउवालाई हेलिकोप्टरमा समेत आउन दिएको भन्दै सोमबार गुनासो गरेका थिए।