जिप्रका डडेलधुराले भन्यो- सागर ढकाललाई कुनै रोक लगाएका छैनौँ, सुरक्षा पनि दिन तयार छौँ - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

जिप्रका डडेलधुराले भन्यो- सागर ढकाललाई कुनै रोक लगाएका छैनौँ, सुरक्षा पनि दिन तयार छौँ



डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको खण्डन गरेको छ ।

स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ।

’विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

यसअघि ढकालले सामाजिक सञ्जालमा प्रशासनले चुनावी प्रचारमा अवरोध गरेको बताएका थिए । ‘मलाई जोगाइदिनुस्– जता गुहार्नु बाहेक केही बाँकी रहेन’, उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ।’

उनले आफूलाई प्रचारप्रसारमा डडेलधुरामा रोक लगाइएको दाबी गर्दै अगाडि भनेका छन्, ‘शेरबहादुरले खुल्लमखुल्ला नियम कानुन उल्लङ्घन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङजस्तो गरी माइकिङ गर्न पनि दिएको छैन। मलाई रोकेको छ ।’​