सागमा पदक जित्नेलाई सरप्राइज सम्मान गरिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सागमा पदक जित्नेलाई सरप्राइज सम्मान गरिने



काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने नेपाली खेलाडीलाई उचित सम्मान दिने आश्वासन दिएका छन्। 

खेलकुद मन्त्रालयले त्यसको लागि प्रस्ताव गरिसकेको जानकारी दिदै अर्थमन्त्री खतिवडाले उक्त प्रस्तावकाे सुनुवाई हुने जानकारी दिए। सागमा सहभागी हुने खेलाडीहरूलाई विशेष सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सागमा पदक जित्ने खेलाडीलाई उचित सम्मान दिने आश्वासन दिदै पदक जित्न उत्प्रेरित गरेका हुन्।  ‘सागमा पदक जित्ने खेलाडीलाई सम्मान गर्नका लागि खेलकुद मन्त्रालयले प्रस्ताव पठाइसकेको छ। त्यसको सुनुवाई हुन्छ’, उनले भने, ‘निश्चिन्त भएर राम्रो प्रदर्शन गर्नुहोस्। देशको इज्जत बढाउनुहोस्। सरकारले उचित सम्मान दिनेछ।’

अर्थमन्त्री खतिवडाले सरकारले खेल क्षेत्रको विकासका लागि ठूलो लगानी गरिरहेको बताए। विद्यालयदेखि नै खेलकुदको विकासमा जोड दिइएको जानकारी दिदै खेलकुदको माध्यमबाट राष्ट्रिय एकता, सद्भाव सहयोग र समझदारीको विकास हुने बताए। उनले सागको आयोजना गर्न पाउनु गौरबको विषय भएको उल्लेख गर्दै यो अवसरलाई ऐतिहासिक बनाउनुपर्ने बताए। पछिल्लो समय सार्कको बैठक तथा सार्क सम्मलेन हुन नसकिरहेको बेला नेपालले सागको आयोजना गरेर क्षेत्रीय सहयोगको उदाहरण पेस गर्न सक्षम भएको दाबी गरे।

उनले शाहसिक खेलमा अघि बढ्न सकिने भन्दै खेलकुदको अर्थशास्त्रले आर्थिक कृयाकलापलाई पनि सहयोग गर्ने बताए। दक्षिण एसियाली खेलकुद हाम्रो ओलम्पिक भएको भन्दै उनले भ्रमण वर्षको पूर्व तयारीका बेला आयोजना भएको प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए। ‘दक्षिण एसियाली खेलकुद हाम्रो लागि ओलम्पिक नै हो। यो प्रतियोगितामा हाम्रो प्रदर्शनले धेरै अर्थ राख्छ’, उनले भने, ‘सबै नागरिकलाई सहयोग र सत्कारका लागि आग्रह गर्छु, ताकी फर्केर जाने विदेशी पाहुनाले भ्रमण वर्षको दूत बन्न सकुन्।’

अर्थमन्त्री खतिवडाले खेलको विकासका लागि पूर्वाधारमा केन्द्रित भइरहेको बताए। उनले सातै प्रदेशमा सुविधा सम्पन्न खेलमैदान, खेलग्राम बनाउने पनि सरकारको नीति रहेको बताए। उनले त्यसका लागि केहि हदसम्म बजेट पनि विनियोजन गरिएको बताए।