सफाइ अभियानमा १०२ वर्षीय देखि ८४ नाघेका वृद्धवृद्धा - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

सफाइ अभियानमा १०२ वर्षीय देखि ८४ नाघेका वृद्धवृद्धा



काठमाडौँ ।।  उपत्यकामा शुरु भएको चक्रपथ सफाइ अभियानमा १०२ वर्षीय वृद्ध सोमनाथ ढुंगाना पनि सहभागी भएका छन्  ।

सफाइमा ढुंगानासहित ८४ वर्ष पार गरेका खिलराज पाण्डे, हिराराज रेग्मी, चन्द्रबहादुर कुँवर, बालकुमारी ढुंगेललगायत वृद्धवृद्धाले सफाइ गरेकाे चक्रपथ सफाइका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । चक्रपथ सफाइको ३७ औँ हप्तामा आज चक्रपथको भाटभटेनी अघिबाट चप्पल कारखानासम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चौरासी वर्ष नाघेका वृद्धवृद्धासमेत पुसको बिहानी जाडोमा सफाइमा उत्रेपछि धेरैलाई चक्रपथ सफा गर्ने प्रेरणा जगाएको थियो । चक्रपथको यो क्षेत्रमा धेरै फोहर भेटिएको छ । बाटोमा फ्यालिएका मोटरभित्र शौचालय, फोहर फाल्ने र राति मादकपदार्थ सेवन गरेर यौन क्रीडा गर्ने स्थलका रुपमा प्रयोग गरेको पाइएको अभियन्ता टण्डनले बताए ।

यो क्षेत्रमा ठूला तीन र साना तीनवटा सवारीसाधन चक्रपथ किनारमा राखिएको छ । सवारीभित्र फोहर र परिवार नियोजनका अस्थायी साधनसमेत प्रयोग गरेर फालिएको अवस्थामा पाइएकाले यी सवारीसाधन चक्रपथको सडक किनारबाट हटाइनुपर्ने अभियन्ताको माग छ । फोहर नियन्त्रणका लागि कडा कानून र जरिवाना नगरेसम्म चेतना नआउने अनुभव सफाइ अभियन्ता टण्डनको छ ।

उपत्यकामा आज नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बाग्मती सफाइ महाअभियानको २४१ औँ हप्तामा आज तीनकुने पुल मीनभवनमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । हाम्रो आलोकनगर सफाइ समूहको ३७औँ हप्ताको सफाइ कार्यक्रम पनि बाग्मती सफाइसँगै भयो ।

सफाइमा ऊर्जा थप्नका लागि वाग्मती सफाइकी सद्भावना दूत एवम् नायिका मनीषा कोइराला, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, खेम क्लिनिङ्स नेपालका अध्यक्ष खेम शर्माको सक्रियता थियो । सफाइमा काठमाडौँ महानगरपालिका, मुक्तिनाथ विकास बैंक, हाम्रो पाइला, आलोकनगर महिला सफाइ समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको अधिकार सम्पन्न बाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

गुह्येश्वरीमाथिको बाग्मती सफाइको २०२औँ हप्तामा आज हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९८औँ हप्तामा आज रातोपुल–कालोपुल–सिफल–गौशालासम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूह लगायतको संस्थागत सहभागिता थियो । सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

विष्णुमती सफाइको १६९औँ हप्तामा टोखा नगरपालिका–११ को नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी अनिल धरेलले जानकारी दिनुभयो । सफाइमा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र वडाध्यक्ष उत्तम अधिकारीको समेत सहभागिता थियो । आजको सफाइका क्रममा नदीमा फोहर फाल्दै गरेका ब्रिटिश गोर्खा कलेजमा अध्ययनरत अभिषेक भण्डारीलाई रंगेहात पक्राउ गरियो । नदीमा फोहर फाल्नेलाई कारबाहीका लागि टोखा नगरपालिकाका प्रमुख अधिकारीले जिम्मेवारी लिएको सफाइ अभियानले जनाएको छ ।

यसैगरी चक्रपथ वाफल खण्ड सफाइको १९औँ हप्तामा आज स्युचाटारदेखि सोल्टी दोबाटोसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरसफाइ अभियानलाई राष्ट्रियस्वरुप दिने मन्त्रालयले कार्यक्रम ल्याउने तयारी गरेको जानकारी गराए । यहाँको सफाइमा सडक किनारमा उभिएर घरधनीको नामले बोलाउन थालेपछि अभियानकर्मीको सङ्ख्या बढ्न थालेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि बाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४५ स्थानमा सफाइ भइरहेको बाग्मती सफाइ महाअभियानले जनाएको छ ।रासस / फाइल तस्बिर