सडक फराकिलो बनाउँदा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)को अवरोध - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सडक फराकिलो बनाउँदा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)को अवरोध



कञ्चनपुर ।। कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एकजनाको मृत्यु भएको कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले सडक फराकिलो बनाउँदा अवरोध गरेको  नयाँ पत्रिका दैनिकमा समाचार छापेको छ ।

बेलौरी नगरपालिका–१० सडकघाटमा एसएसबीले अवरोध गरेको बताउँदै वडाअध्यक्ष हरिलाल चौधरीले भने, ‘हाम्रैै भूमिमा सडक फराकिलो बनाइरहेका थियौँ, भारतीय एसएसबीले रोकिदियो ।’

नगरपालिकाको सडक फराकिलो बनाउने योजनाअन्तर्गत केही दिनदेखि सडकघाटमा निर्माणको काम भइरहेको थियो ।

वडाध्यक्ष चौधरीका अनुसार चालू आर्थिक वर्षमा दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाउन आठ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अहिले चार मिटर सडक रहेकाले आवतजावत गर्न अप्ठ्यारो भएको उनले बताए । यस क्षेत्रमा अब १५ मिटर मात्रै सडक चौडा गर्न बाँकी छ ।

तर, यस क्षेत्रमा नेपाल–भारतको सीमा यकिन नभएको भन्दै एसएसबीले सडक फराकिलो बनाउन रोकेको हो ।

सीमामा सधैँको किचलो
सडकघाटदेखि सीमा क्षेत्र जोड्ने यो सडक निर्माणमा अवरोध भएपछि दुवै देशका सीमा क्षेत्रका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ ।

स्थानीय बासिन्दा झुपबहादुर शाही एसएसबीले सधैँ निहुँ खोजेर दुःख दिने गरेको बताए । उनले भने, ‘सीमा यकिन छैन, एसएसबीले जहिल्यै अवरोध गर्छ ।’

यस क्षेत्रको जमिनको आफूहरूसँग जग्गाधनी प्रमाणपत्र रहेको उनले बताए । यस क्षेत्रमा पर्ने नेपाल–भारत सीमा स्तम्भ नम्बर ३२, ३३ र ३४ यकिन छैन ।

जसका कारण गत फागुनमा पुनर्वास नगरपालिकाको आनन्द बजारमा कल्भर्ट निर्माण गर्दा यसैगरी एसएसबीले अवरोध गरेको थियो ।

विवाद बढ्दै जाँदा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो ।

विवाद मिलाउन छलफल सुरु

एसएसबीले सडक फराकिलो बनाउन अवरोध पु¥याएपछि स्थानीय तहका जनप्रतिनिधिले छलफल सुरु गरेका छन् ।

मंगलबार बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीसहित स्थानीय सुरक्षा अधिकारीहरूले एसएसबीका अधिकारीहरूसँग छलफल गरेका छन् ।

छलफलका क्रममा एसएसबीले संयुक्त सीमा सर्भे टोली आएर सीमा यकिन नगर्दासम्म काम नगर्न आग्रह गरेको अध्यक्ष चौधरीले बताए ।

भारतसँग सीमा जोडिएको पश्चिम क्षेत्रमा सीमा सर्भे गरिरहेको नेपाल र भारतको संयुक्त टोली पनि कञ्चनपुरको आनन्दबजार–बसही क्षेत्रमा काम गरिरहेको छ ।

सीमा सर्भे टोलीमा नेपालका तर्फबाट खटिएका सीमाविद् पूर्णबहादुर खड्काले केही समयमै विवादित क्षेत्रको वास्तविक सीमा जाँच गरी टुंगो लगाइने भएकाले त्यतिवेलासम्म विवाद नबढाउन दुवै पक्षलाई आग्रह गरेका छन् ।

यसैबीच कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले सडक निर्माणमा आएको समस्या समाधान गर्न पहल भइरहेको बताए ।

उनका अनुसार विवादित क्षेत्रका स्थानीय बासिन्दाबीच सद्भाव कायम गराइराख्नका लागि दुवै देशका सुरक्षा अधिकारीले छलफल गरेर सुरक्षा सतर्कता अपनाएको छ ।

सीमा स्तम्भ नम्बर ३२, ३२ र ३४ को यकिन गरी टुंगो लगाउन दुवै देशका अधिकारीहरू सहमत भएका छन् ।

अब उच्चस्तरीय संयुक्त सीमा सर्भे टोलीले नापजाँच गरेर समस्या समाधान गर्ने प्रजिअ खड्काको भनाइ छ । फाइल तस्बिर :-