चुनावको मुखैमा फेरिए गृह सचिव - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चुनावको मुखैमा फेरिए गृह सचिव



चुनावको संघारमा गृह सचिव फेरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय पठाउने निर्णय गरेको छ।

प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई गृहमा ल्याइएको छ। ‘गृह सचिव फेर्ने निर्णय मन्त्रिपरिषद्को पहिलो एजेन्डा थियो,’ ती मन्त्रीले भने।

सहसचिवबाट सचिवमा बढुवा भएपछि सिंहको पहिलो पोस्टिङ प्रदेश १ मा गरिएको थियो। सहसचिव हुँदा उनी गृह, सञ्चार तथा अर्थमा बसेका थिए। गृहमा बसेको बेला उनी आधा दर्जनभन्दा बढी जिल्लामा प्रमुख जिल्ला अधिकारी भइ काम गरेका थिए। डेढ वर्षअघि पाण्डेलाई गृहमा लगिएको थियो। गृहमा जानुअघि पाण्डे भूमि व्यवस्था मन्त्रालयका सचिव थिए।

मन्त्रिपरिषद्ले गृहसचिवसँगै अन्य तीन सचिवको सरुवा गरेको छ। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयाम रायलाई वाणिज्य मन्त्रालयमा लगेको छ भने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डेलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा लगेको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ।

कसैलाई थन्क्याउनुपर्‍यो भने मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा लग्ने परम्पराजस्तै भएको छ। त्यसैले सचिवहरू प्रधानमन्त्री कार्यालयमा सकेसम्म जान चाहन्नन्।

प्रधानमन्त्री कार्यालयमा अहिले सचिवको दरबन्दी सात पुगेको छ। यसमध्ये एक सचिव कानुन र एक जना सचिव इन्जिनियरतर्फको दरबन्दी कायम गरिएको छ। पछिल्लो समय सरकारले माथिल्लो तहका कर्मचारीहरू धमाधम फेर्न थालेको छ। आचारसंहिता लागु हुनुअघि नै सरकारले विभिन्न कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न सरुवालाई तीव्रता दिएको हो।