सभामुखको विषयमा नेताहरूको मुखामुख - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सभामुखको विषयमा नेताहरूको मुखामुख



काठमाण्डौ- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सभामुखको विषयमा नेताहरू मुखामुख गरेर मात्र फर्केका छन् ।

बैठकमा सभामुख चयनको मुख्य एजेन्डामा कुरा किया भएन भनेर नेताहरूले एक अर्काको मुखमा हेरेरै चित्त बुझाएका छन् । बैठकमा प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्ने बारेमा निर्णय गर्ने भनिए पनि उक्त एजेण्डा प्रवेश नै हुन सकेन ।

संसद सचिवालयमा कार्यरत एक महिला स्वास्थ्यकर्मीले यौन दुराचारको आरोप लगाएपछि असोज १४ गते कृष्णबहादुर महराले सभामुखबाट राजिनामा दिएपछि अहिले सभामुख पद रिक्त छ ।

एक साताअघि बसेको स्थायी समिति बैठकले सचिवालय बैठकबाट सभामुखको उम्मेद्वार चयन गरिने निर्णय गरेको थियो । तर, स्थायी समिति बैठकपछि पहिलो पटक आइतबार बसेको सचिवालय बैठकमा यसबारेमा छलफल नै हुन सकेन । आजको बैठकले सभामुखको टुंगो लगाउने अपेक्षा गरिएको भए पनि त्यस विषयमा कुनै छलफल हुन नसकेको नेकपा स्रोतले बताएको छ ।

नेकपाले अर्को बैठक आउँदो बुधबारका लागि तय गरेको छ । उक्त बैठकमा पनि सभामुखबारे कुनै छलफल हुने संकेत नदेखिए बैठक सर्नसक्ने सम्भावना पनि उत्तिकै छ ।

संसद् बैठक अनिश्चित

नेकपाले सभामुख कसलाई बनाउने भन्ने बारे निर्णय नगर्दा संसद बैठक अनिश्चित बनेको छ । दुई दिनअघि शुक्रबार तय भएको प्रतिनिधिसभाको बैठक पनि नेकपाले सभामुखको उम्मेद्वार तय गर्न नसक्दा सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

हिउँदे अधिवेशन सुरु भइसक्दा र सभामुख पद रिक्त भएको लामो समय भइसक्दा पनि नेकपाले कुनै निर्णय गर्न नसक्दा संसद बैठक नै अप्ठ्यारोमा पर्ने गरेको छ । जसले संसदका काम कारबाही प्रभावित हुन पुगेका छन् ।

ओली र दाहालको राजनीतिक स्वार्थ

पार्टी अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेद्वारको विषयमा एकमत नहुँदा नेकपा नै अप्ठ्यारोमा परेको छ । नेकपा स्रोतका अनुसार दुई अध्यक्ष यस विषयमा एक मत नहुँदा आजको सचिवालय बैठकमा यस विषयले प्रवेश पाउन नसकेको हो ।

पार्टी एकता हुने बेला सभामुख पद पूर्व माओवादी खेमाले लिएको र अहिले पनि पूर्व माओवादी खेमाले नै सभामुख पाउनु पर्ने पूर्व माओवादी नेताहरूको धारणाा छ । तर, ओली त्यस पक्षमा नरहेको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सभामुखको नाम प्रस्ताव गर्न आफूले पाउनु पर्ने बताएपछि यस विषयले बैठकमा प्रवेश नपाएको हो ।

सकसमा शिवमाया

नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न दवाव दिइरहेको छ । तर, उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई सभामुख बनाउने प्रतिबद्धता नजनाएसम्म उपसभमुखबाट राजीनामा नदिने अड्डि कस्दै आएकी छन् ।

राजीनामा नै दिन पर्ने भए आफू के कारणले सभामुख बन्न अयोग्य हो त्यो नेतृत्वले भन्नुपर्ने भन्दै उनले पार्टीलाई अप्ठेरो पारिरहेकी छन् ।

यस्तै नेकपाको आइबारको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा पनि छलफल गर्ने कार्यसूची थियो । तर, बैठकमा यो एजेण्डाले पनि प्रवेश नपाएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रदेश तीनको नाम र राजधानीका विषयमा छलफल

बैठकमा यसअघि तय भएका एजेन्डामा छलफल नभए पनि प्रदेश ३ को नाम र राजधानीका विषयमा भने निर्णय भएको छ ।

बैठकले प्रदेश ३ को नाम वागमती र राजधानी अहिले रहेकै हेटौंडा कायम गर्न प्रदेश सभा दल र प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । प्रदेश ३ मा नेकपासँग स्पष्ट दुईतिहाइ बहुमत भएकाले उसले प्रदेशको नाम र राजधानी प्रदेश सभाबाट दुईतिहाइ बहुमतका साथ तोक्न सक्ने छ ।