ओली प्रचण्ड बैठक: सभामुख टोपबहादुर रायमाझी कि जर्नादन शर्मा ? - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

ओली प्रचण्ड बैठक: सभामुख टोपबहादुर रायमाझी कि जर्नादन शर्मा ?



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको बैठक सकिएको छ । बैठकमा चिनिया रास्ट्रपति सी भ्रमणको समिक्षा देखि नयाँ सभामुखको विषयमा छलफल भएको जनाईएको छ ।

पछिल्लो समय नयाँ सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच दौड तिव्र भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पद नेपाल कम्युनिष्ट पार्टीले दाबी प्रस्तुत गरिसकेको छ ।

उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन लगाई सभामुखमा नेकपाले दाबी गर्नेबारे दुई नेताबीच छलफल भएको छ । तर, उपसभामुखले कसलाई राजीनामा दिनेबारे संवैधानिक अड्चन रहेकाले समस्या परेको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।

नेकपाभित्र सभामुखका लागि पूर्व एमाले र पूर्व माओवादीबीच प्रतिष्पर्धा चलिसकेको छ । विगतमा पूर्व माओवादीका तर्फबाट महराले उक्त पद पाएकाले उक्त पक्षका नेताहरुबीच दौडधूप चलेको छ ।

पूर्व एमाले पक्षधरले पार्टी एक भइसकेकाले यो वा त्यो पक्ष भनेर सभामुख बनाउन नहुने अडान लिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । उनको नाममा सहमति जुट्न नसके शिवमायालाई नै बनाउनेबारे पनि परामर्श शुरु भएको छ ।

पूर्व माओवादीबाट ओनसरी घर्ती दौडमा अगाडि छिन् । टोपबहादुर रायमाझी, अग्नि सापकोटा, हरिबोल गजुरेलले पनि सभामुखमा इच्छा देखाएका छन् । जर्नादन शर्माको नाम पनि अगाडि छ । प्रचण्ड ओनसरी या जर्नादन शर्मामध्येबाट सभामुख बनाउने पक्षमा रहेको बुझिएको छ ।

सभामुख चयनबारे ओली र प्रचण्डबीच आजै बालुवाटारमा छलफल भएको छ । दुवै नेता प्रक्रिया अगाडि बढाउनेबारे सहमत भएका छन् । दुवैले सम्भावित नामहरुबारे प्रारम्भिक छलफल गरेको बुझिएको छ ।