सभामुख र उपसभामुखको राजीनामा चाहियो ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सभामुख र उपसभामुखको राजीनामा चाहियो !



प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना बस्न नहुने भन्दै प्रतिपक्षि दलले राजीनामाको माग गरेको हो ।

संविधानको धारा ९१ (२) मा सभामुख र उपसभामुख फरक राजनीतिक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख छ । संविधानले संसदमा एकभन्दा धेरै दलको प्रतिनिधित्व नभएको अवस्थामा वा उम्मेद्वारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा नपुग्ने व्यवस्था गरेको छ ।

नेकपा बनेपछि प्रतिनिधसभामा चार राष्ट्रिय दल भएका छन् । फागुन २६ गते तत्कालिन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए ।

उपसभामुखमा तत्कालिन नेकपा एमालेबाट शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी थिइन् । सातमध्ये ६ वटा प्रदेश सभाका सभामुख र उपसभामुख पनि नेकपाका छन् ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले संविधानअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने संविधानको स्पष्ट व्यवस्था भएकाले कुन पद छाड्ने निर्णय अब नेकपाले लिनुपर्ने बताए ।

राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको हकमा भने संविधानले फरक दलको हुनु पर्ने व्यवस्था गरेको छैन । संविधानको धारा, १८२ को उपधारा (२) को (१) ले प्रदेश सभामुख र उपसभामुख पनि फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ ।

सुवास नेम्वाङ भन्छन्ः राजीनामा दिनुपर्दैन

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधि सभाका सभामुख र उपसभामुख दुबैले राजीनामा दिनु नपर्ने बताएका छन् ।

दुबै जनाले पार्टीबाट राजीनामा दिइसकेकाले उनीहरू पार्टीको मान्छे नरहेको नेम्वाङले बताए । उनीहरु पार्टी एकता अगावै सभामुख र उपसभामुख भइसकेको र एकता अगावै पार्टीबाट राजीनामा दिइसकेकाले राजीनामाको बाटो अगांल्नुनपर्ने उनको भनाइ छ ।