चारसय पचास सवारी साधन कारबाहीमा
काठमाडौँ, २२ कात्तिक (रासस) ः ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ ।
प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नर्भका आठ र बढी धुवाँ फाल्ने १२५ सवारीसाधन छन् ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर, सफा र स्वच्छ काठमाडौँ निर्माणका लागि यस्तो अभियान चालिएको जानकारी दिनुभयो । “प्रदूषण जाँच गर्ने निकायले प्रदूषण नै जाँच नगरी स्टिकर दिने प्रचलन बढेको पाइएपछि प्रदूषण जाँचसम्बन्धी अभियान सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो ।
महाशाखाले यसअघि ठूलो आवाज निकालेर सञ्चालन भएका सवारीसाधनमाथि कारबाही अभियान सञ्चालन गरेको थियो ।