प्रधानमन्त्रीको तयारी- सबै मन्त्रीको सामुहिक राजिनामा
काठमाडौं – सोमबार सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने तयारी भैरहेको छ । सोमबार सचिवालय बैठक बसी यस्तो निर्देशन गर्ने तयारी गरिएको हो।
सोमबार बिहान सचिवालय बैठक बोलाइएको र बैठकमा यसै एजेन्डामा केन्द्रित रहने स्रोतको दाबी छ । ‘बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन हुन्छ आश्चर्य नपरे हुन्छ’, स्रोतले भन्यो ।
पछिल्लो समय प्रधानमन्त्री ओली ‘ब्रेकथ्रू’ गर्ने सोंचमा देखिएका छन् । सरकारका कामकारवाही सन्तोषजनक नभएको भनेर पार्टीभित्रै चर्किएको असन्तुष्टिलाई सम्बोधन गर्दै यस्तो गर्ने निर्णय लिइएको बताइएको छ ।
प्रधानमन्त्रीले आफ्ना सचिवालयका सबै कर्मचारीलाई पदबाट राजीनामा गर्न निर्देशन दिइसकेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार जस्तै मन्त्रीलाई पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिने निर्णय सचिवालय बैठकबाट गराउन लागेको स्रोतको दाबी छ ।
मन्त्रिमण्डल पुनर्गठनका क्रममा केही पुरानै मन्त्रीले समेत अवसर पाउने सम्भावना रहेको स्रोतले जनाएको छ । यसअघि आईतबार दिउँसो अध्यक्षद्वयबीच सोमबार हुने सचिवालय बैठकका एजेन्डाबारे छलफल भएको थियो ।