‘सबै मन्त्रीलाई राजीनामा गराउँ, क्षमतावान, नयाँ र सिनियर लैजाउँ’ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

‘सबै मन्त्रीलाई राजीनामा गराउँ, क्षमतावान, नयाँ र सिनियर लैजाउँ’



काठमाडौँ- नेकपामा विवाद समाधानका लागि विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलले सरकारको काम प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषद पुनर्गठन गर्न दिएको सुझावलाई स्थायी कमिटी बैठकले पुनर्गठनको बाटो खोलेको थियो ।

लामो अन्तरालपछि यस बिषयमा औपचारिक छलफल सुरू भएको छ । नेकपाको आइतबारे बसेको सचिवालय बैठकबाट मन्त्रीमण्डल पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको हो ।

नेकपा एकता भएपछी पहिलो पटक पेरिसडाँडाको कार्यालयमा बसेको सचिवालय बैठकले आइतबार मन्त्रिपरिषद् पुनगर्ठनलाई मुख्य एजेन्डा बनाएर विभिन्न मापदण्ड बनाउन सुरू गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको ठोस मापदण्ड तय भएको छैन तर, विभिन्न विकल्पमा छलफल सुरु भएको छ । बैठकपछि पत्रकारहरू सँग कुरा गर्दै उनले स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय भएको बताए ।

उनले सचिवालयमा पुनर्गठनको मापदण्डका सम्बन्धमा विभिन्न कोणबाट नीतिगतरुपमा सुझाव दिइएको बताए । विभिन्न एजेण्डाको बारे छलफल भएपनि कुनै टुंगो भने लागेको छैन ।

आज बसेको सचिवालय बैठकमा विभिन्न विकल्पको बारेमा छलफल भएको स्रोतले बताएको छ । उनका अनुसार बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे केहि विकल्पमा छलफल भएको छ ।

स्रोतका अनुसार स्थायी कमिटिका सानै सदस्यलाई अवसर दिनेगरी मन्त्रिपरिषद पुनर्गठन गर्ने, सबै मन्त्रीहरू हटाएर नयाँ र प्रभावकारी व्यक्तिहरूलाई मन्त्रिपरिषदमा पठाउने, सबैलाई राखेर केहि मन्त्रालय फुटाएर थोरैलाई मात्र पठाउने, दुई वर्ष अवधि मात्र पुगेकालाई मात्र हटाएर नयाँलाई पठाउने वा राम्रो काम गरेका र विवादमा नआएकालाई मात्र राख्ने अरोलई फिर्ता बोलाउने विकल्पमा छलफल भएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्रीलाई राजिनामा गर्न लगाएर केहि पुरानासहित नयाँ थपेर पठाउने प्रस्ताव गरेका थिए ।

‘सबैलाई राजीनामा दिन लगाउँ । त्यसपछि पहिलाकै सिनियर, क्षमतावानलाई राख्ने र बाँकी नयाँलाई पठाउने ठीक हुन सक्छ । त्यसो गर्दा पुरै पुरानालाई हटाएर नयाँ राख्ने भन्ने पनि भएन । मन्त्रिपरिषद् भनेजस्तो गरी पुनर्गठन पनि हुन्छ । नयाँमा पनि सिनियर, क्षमतावान र योग्यहरुलाई बनाउँ । त्यसले सरकारको काम पनि प्रभावकारी हुन्छ,’ स्रोतेले प्रचण्डको भनाई उद्घृत गर्दै भन्यो ।

प्रधानमन्त्री ओलीले भने हाल राम्रो काम गरेकालाई राख्ने र बाँकी नयाँ थप्ने प्रस्ताव ल्याएका छन् । र यो विकल्पमा उनले बढी जोड गरेका छन् । तर, विभिन्न विकल्पमा छलफल भएपछि नेताहरुले एउटै मापदण्ड बनाएर जाने विषयमा सहमति गरेका छन् ।

यस बिषयमा ब्यापक छलफल गरेर मापदण्ड तयार गर्ने समेत आजको बैठकले सहमति गरेको बताइएको छ ।

नेकपा स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे भनेको छ, ‘सचिवालयका सदस्यहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने । मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने ।’