सेना परिचालनपछि रुसी नागरिकहरू भट्टाभट देश छोड्दै, जर्मनीले शरण दिने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सेना परिचालनपछि रुसी नागरिकहरू भट्टाभट देश छोड्दै, जर्मनीले शरण दिने



एजेन्सी- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार आइरहेको छ ।

रुसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिन जर्मनीका अधिकारीहरूले बिहीबार संकेत गरेका छन् ।

गृहमन्त्री न्यान्सी फेसरले फ्रैंकफर्टर अल्गेमाइन जेइटुङ पत्रिकासँगको अन्तवार्तामा भनेका छन्, ‘गम्भीर दमनको खतरामा परेका रुसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् ।’

न्यायमन्त्री मार्को बुशम्यानले ‘आंशिक परिचालन’लाई सङ्केत गर्दै ट्वीट गर्दै भनेका छन्, ‘धेरै रुसी नागरिकले आफ्नो मातृभूमि छोड्दैछन् । पुटिनको बाटोलाई घृणा गर्ने र उदार लोकतन्त्रलाई माया गर्ने जो कोहीलाई जर्मनीमा स्वागत छ ।’

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए ।

युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको दाबी छ ।

मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र रुसी नागरिकको सुरक्षालाई ध्यान दिँदै आंशिक रूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर गरेको उनले बुधबारको सम्बोधनमा भनेका थिए ।

उनका अनुसार देशमा आंशिक रूपमा सेना परिचालनको प्रस्ताव रुसी रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।