रुपन्देही प्रहरीको अर्को सफलता: तिवारी हत्याकाण्डमा संलग्न ५ जना पक्राउ - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

रुपन्देही प्रहरीको अर्को सफलता: तिवारी हत्याकाण्डमा संलग्न ५ जना पक्राउ



आचार्य प्रदीप
बुटवल, ५ वैशाख ।
आपराधिक घटना नियन्त्रण गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले गुन्डा नायक मनोज पुनका मुख्य सहयोगीहरूलाई धमाधम पक्राउ गरिरहेको छ ।

मनोज पुनको सहयोगीको रूपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतङ्क मच्चाउदै आएका तथा दुर्गा तिवारी हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेका ५ जनालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु मध्ये बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएपछि पुनको जालो राजनीतिक तहसम्म पुगेको प्रस्ट भएको हो ।
यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरि श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । देवदहमा रहेको मोहीनी हाईजिनका पूर्व सञ्चालक हुन भने पक्राउ परेका तुल्सिराम न्यौपाने हरि श्रेष्ठको उद्योगका म्यानेजर हुन् ।

पक्राउ परेकाहरुले राजनीतिको आवरणमा रहेर चन्दा असुली र हत्यामा संलग्न रहेका उनीहरूलाई नियन्त्रणमा लिन रुपन्देही प्रहरीले ठुलै मेहनत गरेको छ । प्रहरीले पक्राउमा परेकाहरुले मनोज पुनको सहयोगीको रूपमा काम गर्ने गरेको प्रमाण फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
वैशाख ४ गते पक्राउ गरिएको उनीहरूलाई बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुले मनोज पुनका लागि यहाँका व्यवसायीहरूको अवस्थाबारे सुराकी गर्ने तथा रकम असुल्ने गरेको प्रमाण फेला परेकोले नियन्त्रणमा लिइएको बताए ।
पक्राउ परेका मध्ये उत्तम आचार्य एमाले कार्यकर्ता हुन् भने लेखनाथ न्यौपाने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

बाहिर बसेर रुपन्देही र अन्य जिल्लामा समेत हत्या र गुण्डा आतङ्क मच्चाएको मनोज पुन र सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मारिएपछि रुपन्देही बासीले केही राहत महसुस गरेका थिए ।
पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यापछि हत्यामा संलग्न श्याम बहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले पक्राउ गरी अहिले जेलमा रहेका छन् ।
तत्कालीन युवासंघ अध्यक्ष दुर्गा तिवारी हत्यामा सम्लग्न रहेको आशङ्कामा यसअघि पनि उत्तम आचार्यलाई पक्राउ गरिएको भए पनि माथिको दबाब थेग्न नसकेपछि रातारात छोडेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पछिल्लो समय अपराधमा संलग्नमाथि निर्मम बनेको रुपन्देही प्रहरीले अपराधमा सम्लग्न राजनीतिक कार्यकर्तालाई समेत पक्राउ गर्ने हिम्मत गर्न थालेपछि राजनीतिको आवरणमा अपराध गर्दै आएकाहरुको भागाभाग भएको छ ।