रुपन्देहीका रात्रीकालीन व्यवसाय सञ्चालन हुने, प्रशासनले बनायो यस्तो मापदण्ड - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

रुपन्देहीका रात्रीकालीन व्यवसाय सञ्चालन हुने, प्रशासनले बनायो यस्तो मापदण्ड



रुपन्देहीका रात्रीकालीन व्यवसाय सञ्चालनको बाटो खुलेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०७९ तयार गरेपछि बाटो खुलेको हो ।

उद्योगी-व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएको प्रयास सफल भएको बताइएको छ । यससँगै भैरहवा, बुटवल तथा यस आसपासका व्यवसायी उत्साहित देखिएका छन् ।

व्यवसायीहरुले आफूहरुको मागअनुसार रुपन्देहीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने वातावरण तयार भएपछि ऊर्जा थपिएको बताएका छन् ।द्वन्द्वकालमा सुरक्षाको कारण देखाउँदै रात्रीकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको थियो ।
रुपन्देहीका होटल व्यवसायीहरुले मापदण्ड नहुँदा धेरै कानुनी झन्झट व्यहोर्नुपरेको गुनासो गर्दै आएका थिए । उनीहरुले बुद्धस्थल लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटक, अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउने पर्यटक, ठूल्ठूला सम्मेलन केन्द्रसहितको परियोजना सञ्चालन हुँदा पनि ग्राहकलाई सेवा दिन नपाएको दुःखेसो पोख्दै आएका थिए ।

मंगलबारदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले मापदण्डभित्र रहेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्नसक्ने सूचना प्रकाशन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मापदण्डअनुसार व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालनको लागि निवेदन दिनसक्ने बताएका छन् ।

मापदण्डमा जिल्लामा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृतिअनुसार अधिकार प्राप्त निकायमा दर्ता गरी व्यवसाय सञ्चालन गरेको हुनुपर्ने पहिलो सर्त तोकिएको छ । दर्ता भएका व्यवसाय रात्रीकालीन समयमा सञ्चालन गर्न प्रशासनसँग अनुमति लिनुपर्नेछ ।

व्यवसायीले अनुमति मागेपछि प्रशासनले स्थलगत अनुगमन गर्ने व्यवस्था मापदण्डमा गरिएको छ । अनुगमनपछि समय तोकेर व्यवसाय सञ्चालनको अनुमति दिनसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।