राप्रपा र विवेकशील साझाबीच पार्टी एकता हुँदै - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राप्रपा र विवेकशील साझाबीच पार्टी एकता हुँदै



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको लागि संवाद सुरू भएको छ । एकताकै प्रस्ताव लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई भेट्न पुगेका छन् ।

शुक्रबार भएको भेटवार्तामा अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणाले पार्टी एकताको प्रस्ताव गरेको स्रोतले बताएको छ । लिङ्देन र राणा मिश्रलाई भेट्न शुक्रबार बिहान उनकै निवासमा पुगेका थिए ।

सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताएका छन् ।

स्रोतका अनुसार भेटका क्रममा लिङ्देनले एजेण्डा उस्तै उस्तै भएकाले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत भएका छन् ।

‘आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु’, उनले भनेका छन् ।

रवीन्द्र मिश्रले केही महिनाअघि मात्रै ‘विचारभन्दा माथि देश’ नामको दस्ताबेज बाहिर ल्याएका थिए । त्यसमा उनी गणतन्त्र र संघीयता विरुद्ध उभिएका छन् भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि गणतन्त्रको विरोध गर्दै राजतन्त्रको एजेण्डा बोक्दै आएको छ ।

दुबै दल एजेण्डाको हिसावले एक ठाउँमा रहेका सन्दर्भमा आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।