कमल थापाले दिए पार्टी फुटाउने चेतावनी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

कमल थापाले दिए पार्टी फुटाउने चेतावनी



काठमाडौँ — राप्रपाका पूर्वअध्यक्ष कमल थापाले वर्तमान नेतृत्वले सबै पक्षलाई नसमेटे पार्टी दुर्घटना पर्ने चेतावनी दिएका छन् । आइतबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनाबाट जोगाउने मुख्य जिम्मेवारी अध्यक्षको भएको स्मरण गराएका छन् ।

तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नु भयो । मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन । आउँदो पाँच वर्ष तपाईंले नै पार्टीलाई हाँक्ने हो’, थापाले पत्रमा लेखेका छन्, ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो ।’
गत मंसिरमा भएको एकता महाधिवेशनमा थापालाई पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए । थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले राप्रपाको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउदै आएका छन् ।

आइतबार लेखेको पत्रमा समेत अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु राजसंस्था प्रतिको विरोध नभएको स्पष्ट पारेका छन् । ‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होईन’, पत्रमा भनिएको छ, ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो ।’

निर्मल निवासका लागि पार्टी नखोलेको भन्दै थापाले लेखेका छन्, ‘निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नबिर्सौं राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यहीरूपमा कायम राख्नुपर्छ ।’

थापाले राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा नभएको विषयलाई स्पष्टसँग भन्न हिच्किचाउनु नहुने बताएका छन् । ‘राजसंस्था प्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो । राजसंस्था पार्टी राजनीतिभन्दा माथि सबैको साझा भएर रहन सक्नुपर्छ’, थापाले पत्रमा लेखेका छन् ।

थापाले पार्टीको कार्यक्रमहरुबाट आफूलाई अलग्याउने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनुभएको छ’, थापाले लेखेका छन्, ‘महाधिवेशन पछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन, पार्टीका कार्यक्रम र गतिविधिबारे मलाई कुनै सूचना र जानकारीसमेत दिइएको छैन । योजनाबद्धरूपमा मलाई अलग्याउने प्रयास भइरहेको देख्छु ।’

थापाले एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यताविपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रिय सभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीय तहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्यबारे थप चिन्ता बढेको बताएका छन् । ‘पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो, तर अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गइरहेको देखिन्छ’, थापाले भनेका छन् ।