राप्रपाले किन बोलायो आकस्मिक बैठक ?
काठमाडौं- नयाँ सत्ता समीकरण बन्ने र सरकार गठन गर्ने तयारी भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक डाकेको छ । आगामी सरकार गठनका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएको हो।
एमाले र माओवादीसहितको नयाँ गठवन्धनको ढोका खुलेसँगै त्यसमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाले बैठक डाकेको हो । राप्रपा महामन्त्री भुवन पाठकले अध्यक्ष राजेन्द्र लिङदेनले ३ बजे आकस्मिक बैठक बोलाएको जानकारी दिए ।
विषय प्रष्ट नभए पनि आगामी सरकारकै विषयमा छलफल गर्न सक्ने उनको भनाइ छ । राप्रपा अध्यक्ष लिङदेनले आजै बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए ।
त्यसपछि बसेको संयुक्त बैठकमा भने राप्रपा सहभागी छैन । ओली निवासमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच वैठक बसेको छ । यदि राप्रपा सरकारमा आएको खण्डमा ओली-प्रचण्डलाई बहुमत पुर्याउन सहज हुनेछ ।
राप्रपाले यसअघि सरकारमा नजाने अडान लिँदै आएको थियो । तर, ओलीले प्रस्ताव गरेपछि लिङदेनले आकिस्मक बैठक डाकेका हुन् । भर्खरै भएको चुनावमा एमाले र राप्रपाबीच केही स्थानमा तालमेल भएका थियो ।