हार्‍यो रियल मड्रिड, तर पुग्यो सेमिफाइनलमा, रोनाल्डोको पेनाल्टी निर्णायक - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हार्‍यो रियल मड्रिड, तर पुग्यो सेमिफाइनलमा, रोनाल्डोको पेनाल्टी निर्णायक



साबिक विजेता रियल मड्रिड क्वाटरफाइनलको दोस्रो लेगमा गएको वर्षको फाइनलिस्ट युभेन्टससँग पराजित भएर पनि च्याम्पियन्स लिगको सेमिफाइनलका प्रवेश गरेको छ ।

अवे मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेको स्पेनिस क्लब रियल मड्रिड घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा भने ३–१ ले पराजित भयो ।

तर समग्रमा ४–३ को जित निकाल्दै रियल मड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने सम्भावनाको यात्रा कायम राख्न सफल भयो ।

दोस्रो लेगमा महत्वपूर्ण गोल गर्दै टिमलाई अघि बढाउने क्रममा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले इन्जुरी समयमा पेनाल्टी मार्फत एक गोल गरे ।

दोस्रो मिनेटमा नै मारियो मान्जुकीको गोलबाट भ्रमण टोली युभेन्टसले सुरुवाति अग्रता लियो । मान्जुकीले ३७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

६० औँ मिनेटमा ब्लेज म्याट्युडीले गोल गरेपछि युभेन्टस बलियो अवस्थामा पुग्यो । इन्जुरी समयको तेस्रो मिनेटमा युभेन्टसका गोलरक्षक जियानलुइजी बुफोनले अपशब्द प्रयोग गरे । रेफ्री माइकल ओलिभरले उनलाई रातो कार्ड देखाए ।

इन्जुरी समयको सातौँ मिनेटमा रोनाल्डोल पेनाल्टी मार्फत महत्वपूर्ण गोल गरे र टिमलाई अन्तिम चारमा पुग्ने पक्का गराए । रोनाल्डोल यो सिजन रियल मड्रिडका लागि अहिलेसम्म ४१ गोल गरेका छन् ।