रोनाल्डो बिना पोर्चुगल, फेरि पनि हार्यो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

रोनाल्डो बिना पोर्चुगल, फेरि पनि हार्यो



विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगलले अभ्यासमा खेलमा लगातार जित बिहीन हुनु परेको छ । रुस विश्वकप सुरु हुनु पूर्व भइरहेको अभ्यास खेलमा पोर्चुगलले जितको स्वाद लिन नपाएको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत विश्वकपको तयारीमा रहेको अर्को टिम बेल्जियमसँग पोर्चुगल शनिबार राति भएको खेलमा गोलरहित बराबरीमा रोकियो ।

ब्रसेल्समा भएको खेलमा पोर्चुगल स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना खेलेको हो । रियल मड्रिडलाई गएको हप्ता लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि दिलाएका रोनाल्डो अहिले ब्रेकमा छन् ।

उनी बिना नै गएको हप्ता भएको खेलमा पनि पोर्चुगल बराबरीमा रोकिएको थियो । २–० को अग्रता लिएर पनि त्यो खेलमा पोर्चुगल ट्युनिसियासँग २–२ को बराबरीमा रोकिन बाध्य भएको थियो ।

बेल्जियमसँगको खेलमा गोल गर्ने केही राम्रा मौका बनाए पनि गोल हुन सकेन । बेल्जियमले पनि गोल गर्न सकेन । बेल्जियमका भिन्सेन्ट कम्पोनी ग्रोइनमा समस्या देखिएका कारण दोस्रो हाफमा मैदानबाट बाहिर निस्किए ।

उनको आइतबार स्क्यान हुनेछ । उनलाई केही समस्या देखिएको प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् ।

पोर्चुगल समूह बी मा स्पेन, मोरक्को तथा इरानसँगै छ । उसले पहिलो खेलमा जुन १५ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । बेल्जियम समूह जी मा पानामा, ट्युनिसिया र इंग्ल्याण्डसँगै छ ।

शनिबार भएका अरु खेलमा रिपब्लिक अफ आयरल्याण्डले अमेरिकालाई २–१, चीनले थाइल्याण्डलाई २–० तथा स्लोभेनियाले मन्टेनेग्रोलाई २–० ले हरायो भने स्वीडेन र डेनमार्कले गोलरहित बराबरी खेले ।