काँग्रेस नेताहरु लक्षित गरि आक्रमण, घर र मोटरसाइकल ध्वस्त - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

काँग्रेस नेताहरु लक्षित गरि आक्रमण, घर र मोटरसाइकल ध्वस्त



काठमाडौं- नेपाली काँग्रेस रोल्पाका उपसभापति हरि पुन र सचिव शेरबहादुर थापालाई लक्षित गरी गए राति मोटरसाइकल र घरमा आगजनी गरिएको छ ।

पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमको सिलसिलामा सोमवार गंगादेव गाउँपालिका—५ पुगेका उपसभापति र सचिवले खाना खाएर सवार मोटरसाइकल पार्किङ गरेको स्थानीय नदु डाँगीको घरमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट रा. ५ प ९५२१ नम्बरको मोटरसाइकल र घरमा क्षति पुगेको छ । संयोगले पुन र थापा भने डाँगीकै अर्को घरमा सुतेका थिए । ‘हामी खाना खाएर उहाँकै अर्काे नजिकैको घरमा सुतेका थियौं,’ सचिव थापाले भने, ‘खाना खाएकै घरमा सुतिरहेका छन् भन्ने अनुमानले आगजनी गरिएको रहेछ ।’

राति पौने १० बजे मोटरसाइकलमा आगलागीलगत्तै स्थानीयले घरमा थप क्षति हुनबाट बचाएका थिए । राति नै इलाका प्रहरी चौकी घर्तीगाउँ र स्थानीय प्रहरी चौकीमा खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका निरीक्षक सुधिर खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेर मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् । साथै घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए ।

यसैबीच नेपाली काँग्रेसका नेताहरुले दोषीमाथि हदैसम्म कारबाहीको माग गरेका छन् । केही व्यक्ति दिउँसैदेखि सो क्षेत्रमा शंकास्पद तरिकाले हिँडिरहेकाले उनीहरु नै उक्त घटनामा संलग्न हुन सक्ने भन्दै तिनलाई तत्काल पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि उपसभापति पुन र थापाले प्रहरीसमक्ष माग राखेका छन् ।