रोकियो एमाले-माओबादी एकता प्रक्रिया !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन र मन्त्रिपरिषद् विस्तारमा एमाले र माओवादी केन्द्र दुवै दलका नेताहरु व्यस्त रहेपछि एकता प्रक्रियाको काम प्रभावित बन्न पुगेको छ ।
तर आगामी वैशाख ९ अर्थात् अप्रिल २२ मा पार्टी एकता घोषणा गर्ने लक्ष्यसाथ दुईवटा कार्यदलले जिम्मेवारीअनुसारको काम जारी राखेको नेताहरुले बताएका छन् ।
दुवै कार्यदलका सदस्यले करिब ८० प्रतिशत काम सम्पन्न भएको बताएका छन् ।
प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लागि अन्तरिम विधान तथा संगठनात्मक संरचना निर्माण एवम् अन्तरिम विधानको संरचना निर्माण गर्न छुट्टाछुट्टै गठित कार्यदलका सदस्यले गृहकार्य अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
यसअघि पार्टी एकता संयोजन समितिले फागुन २५ को डेटलाईन कार्यदललाई दिएको थियो । सो अवधिमा दुवै कार्यदलले प्रतिवेदन तयार गर्न नसकेपछि थप १० दिनको समय दिइएको थियो । दोस्रोपटक पाएको समय पनि घर्केको छ । कार्यदलले प्रतिवेदन अझै तयार गरिसकेको छैन ।
अन्तिम चरणमा पुगेको दुवै कार्यदलका नेताहरुले बताउँदै आएका छन् ।
“यसअघि चैतको पहिलोसाता पार्टी एकता घोषणा गर्ने तयारी संयोजन समितिले गरेको थियो । तर गृहकार्य पुगेन,” कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले भने, “पार्टी एकता घोषणा गर्ने समय वैशाखमा सरेपछि कार्यदलले गृहकार्य गर्ने थप समय पाएको हो, सोअनुसार काम तीव्रताकासाथ भइरहेको छ ।”
कार्यदलमा रहेका केही नेताहरु सरकारमा सहभागी भएपछि पनि कार्यदलको केही काम प्रभावित भएको बुझाई सदस्यहरुको छ ।
सरकार गठनअघि पार्टी एकता घोषणा गर्ने तयारी यसअघि दुवै दलका नेताहरुले गरेका थिए । तर सरकार बीचमै बनेपछि पार्टी एकताको कार्यक्रम केही समयपछि धकेलिएको कार्यदलका अर्का सदस्यले बताए ।
“कार्यदलका सदस्यहरुको परामर्श र सुझाव पार्टी घोषणा ऐतिहासिक दिन पारेर गर्नुपर्छ भन्ने रह्यो, सोअनुसार कम्युनिष्ट पार्टी जन्मेकै दिन नयाँ पार्टी घोषणा गर्ने निस्कर्षकासाथ एकता प्रक्रिया केही लम्बिएको हा,े” कार्यदलका अर्का सदस्य देव गुरुङले भने ।
वैशाख ९ लाई लक्षितगरी कार्यदलले प्रतिवेदनको मस्यौदाको काम गरिरहेको उनले जानकारी दिए । उनकाअनुसार २००६ वैशाख १० गते तदनुरुप २२ अप्रिल १९४९ मा कम्युनिष्ट पार्टी जन्मेको भए पनि आगामी अप्रिल २२ मा वैशाख ९ गते पर्ने भएकाले नेपाली तिथीअनुसार एकदिन अगाडि नै नयाँ पार्टी घोषणा गर्ने तयारी गरिएको छ ।
“दुवै कार्यदलको बैठक नियमितरुपमा बसिरहेकाले चाँडै मस्यौदाको काम सम्पन्न हुन्छ,” नेता गुरुङले भने ।
पार्टी एकता प्रक्रिया केही लम्बिएको देखिए पनि एकतामा कुनै समस्या नरहेको बताउँदै कार्यदलका सदस्य गुरुङ्ले सम्भवतः एक साताभित्र कार्यदलले मस्यौदाको काम सक्ने बताए । “कार्यदलले तयार गर्ने प्रतिवेदन एकता संयोजन समितिमा प्रस्तुत हुन्छ, त्यहाँ थप छलफल गरेर अन्तिम रुप लिन्छ,” गुरुङले भने ।
घोषणा हुने नयाँ पार्टीको अन्तरिम विधान तथा संगठनात्मक संरचना र राजनीतिक प्रतिवेदन तयार गर्न छुट्टाछुट्टै दुईवटा कार्यदल गठन गरिएका थिए । राजनीतिक प्रतिवेदन तयार गर्ने कार्यदलको संयोजकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल छन् ।
त्यस्तै, अन्तरिम विधानको मस्यौदा तथा संगठनात्मक संरचना निर्माण कार्यदलको संयोजकमा माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिम्मेवारी दिइएको छ । दुवै कार्यदलमा १०–१० जना सदस्य छन् ।