रोजगारीको आशामा बन्धक बनाईएका ८ महिलाको दिल्लीको पहाडगंजबाट उद्धार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रोजगारीको आशामा बन्धक बनाईएका ८ महिलाको दिल्लीको पहाडगंजबाट उद्धार



नयाँ  दिल्ली 

भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट वैदेशिक रोजगारीको सिलसिलामा बन्धक रहेका नेपाली महिला तथा किशोरीहरूको के. आई. नेपाल, दिल्ली महिला आयोग र दिल्ली पुलिसको संयुक्त प्रयासमा ८ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ ।

१९ देखि ३७ वर्ष उमेर समूहका उक्त महिला तथा किशोरीहरूलाई विभिन्न बहानामा कुवेत तथा इराकमा रोजगारी दिने भनी ३ दिन देखि १ महिनासम्म नेपालका विभिन्न जिल्लाहरूबाट दिल्ली पुर्‍याई बन्धक बनाएर राखिएको जानकारी के.आई. नेपाललाई प्राप्त भए पश्चात् उद्धार प्रक्रिया अगाडि बढाइएको थियो भने उद्धार गरिएका महिला तथा किशोरीहरूलाई दिल्ली महिला आगोगको सहकार्यमा दिल्ली स्थित पुनस्र्थापना केन्द्रमा राखी परामर्श दिने कार्य भइरहेको जानकारी के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताउनुभएको छ ।

उद्धार भएका महिला तथा किशोरीहरूले लामो समयको बन्धकबाट मुक्त भई नजिकिँदै गरेको दशैको अवसरमा घर तथा परिवारमा पुनर्मिलन हुने आसमा खुसी व्यक्त गरेका छन् भने ती महिला तथा किशोरीहरूलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी स्वदेश फिर्ती गरी परिवारमा पुनर्मिलन गराइने जानकारी दिल्लीस्थित के. आई. नेपालका प्रतिनिधि नवीन जोशीले दिनुभएको छ ।

के. आई. नेपालले गत साउन ९ गते भारतको नयाँ दिल्लीस्थित मुर्निकाको एक कोठाबाट १६ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको र सोही साताको साउन १५ गतेका दिन भारतको नयाँ दिल्लीस्थित पहाडगंजबाट ३९ जना महिला तथा किशोरीको उद्धार गरी ५२ जना महिला तथा किशोरीहरूलाई स्वदेश फिर्ती पश्चात् परिवारमा पुनर्मिलन गराउन सफल भएको थियो ।