आज ऋषि पञ्चमी, सप्तर्षिको पूजा गरी मनाइदै - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

आज ऋषि पञ्चमी, सप्तर्षिको पूजा गरी मनाइदै



download (10)२१ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् ।

आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रहृमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाकटर रामचन्द्र गौतमले जानकारी दिए ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तषिर्को पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंबदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रहृम हत्याको पाप भोग्नुपर्‍यो । हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रहृमालाई सुनाए । इन्द्रको ब्रहृम हत्या निवारणका लागि ब्रहृमाले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहिआएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले बताए ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने प्रा.डा गौतम बताउँछन् ।