कांग्रेसले महिलाको अपमान गर्‍यो: विष्णु रिजाल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कांग्रेसले महिलाको अपमान गर्‍यो: विष्णु रिजाल



नेकपा एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सिर्जना सिंहलाई काठमाडौं महानगर प्रमुख पदमा उम्मेदवार बनाएर नेपाली कांग्रेसले राजनीतिमा समर्पित सम्पूर्ण महिलाको अपमान र अवमूल्यन गरेको आरोप लगाएका छन्।

राजनीति तथा सार्वजनिक क्षेत्रमा कुनै योगादान नगरेको तर नेताकै श्रीमती भएका आधारमा सिंहलाई उम्मेदवार बनाइएको टिप्पणी रिजालले गरेका हुन्।

‘कांग्रेसले काठमाडौंमा ३० वर्षसम्म पार्टीको कुनै कमिटीमा नरहेको, सार्वजनिक जीवनमा एक दिन पनि देखानपरेको र आफैं घर सम्हालेर बसेँ भनेर बोलिरहेकी महिलालाई नेताकी श्रीमती भएकै आधारमा अघि सारेर राजनीतिमा समर्पित सम्पूर्ण महिलाहरुको अपमान र अवमूल्यन गरेको छ’, रिजालले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्।

कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नी श्रीमतीलाई सिर्जना कामठमाडौं महानगरको उम्मेदवार बनाएर बुबा गणेशमान सिंहकै बाटो अवलम्बन गरेको आरोप पनि उनले लगाएका छन्। साथै हार निश्चित भएको दाबी पनि रिजालले गरेका छन्।

‘बहुदलीय व्यवस्था स्थापनापछि गणेशमान सिंहले श्रीमती र छोरालाई उम्मेदवार बनाउँदा पटकपटक काठमाडौंमा पराजयको जुन नियति भोग्नुपरको थियो, उहाँका छोरा प्रकाशमान सिंहले पनि त्यही बाटो रोज्नुभएको छ’, रिजालले भनेका छन्, ‘आफ्नी श्रीमती र छोरालाई हराउँदा काठमाडौंका जनतालाई ‘भेडा’भन्नुपरेका दिनहरु सम्झिँदा मात्रै पनि उही नियति दोहोरिँदैनथ्यो कि!’

केही दिनयता प्रमुख प्रतिपक्षी एमाले र प्रमुख सत्तारुढ नेपाली कांग्रेसका नेताबीच विभिन्न आरोप प्रत्यारोप भइरहेको छ।