एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो दल: विष्णु रिमाल - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो दल: विष्णु रिमाल



काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले बढी मात्रामा सिट हासिल गरे पनि पालिका प्रमुखहरूले प्राप्त गरेका मत विश्लेषणका आधारमा एमाले पहिलो दल भएको दाबी उनको छ ।

रिमालका अनुसार एमालेबाट विजयी तथा पराजित मेयर/अध्यक्षहरूले कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतमध्ये ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत प्राप्त गरेर पहिलो दल बनेको हो ।

‘पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाब गर्ने हो भने मेयर/अध्यक्षहरूको कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतको ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत एमालेको छ ।’ रिजालले भनेका छन, ‘जसअनुसार कांग्रेसले ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको छ ।’ गठबन्धन गरेर होमिएको कांग्रेसका मेयर र अध्यक्षहरूको प्राप्त गरेका मतका आधारमा ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको रिमालको भनाइ छ ।

निर्वाचन आयोगको तथ्यांक उल्लेख गर्दै रिमालले सात सय ५३ मध्ये तीन सय ११ स्थानीय तहमा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएको तथा तीन सय सात स्थानमा कांग्रेसले दुई वा तीन दलीय गठबन्धन गरेका कारणले मात्रै ३३.३ प्रतिशत मत प्राप्त गर्न सफल भएको हो ।

नेकपा एमालेबाट चोइटिएको नेकपा एसको जम्मा चार प्रतिशत मत रहेको रिमालले उल्लेख गरेका छन् । ‘नेकपा एसको चार प्रतिशत पनि सबै उसको होइन, कांग्रेस र माओवादी गठबन्धनबाट पाएको हो,’ रिमालले विश्लेषण गरेका छन् । नेकपा ‘एस’को एक तिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा कांग्रेसको ३२ प्रतिशत मात्र रहनेछ भने अझ माओवादी केन्द्रबाट पाएको लाभको अनुमानित तीन प्रतिशत कटाउँदा कांग्रेसले २९ प्रतिशत मात्रै पाएको रिमालको तर्क छ ।

चुनाव चिह्न रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी कांग्रेसको स्वीकार्दै रिमालले भनेका छन् । बढीलाई एमालेले घटी भनि रहेको छैन, एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– कांग्रेसको खातामा आएको त्यो ‘पुँजी’ उसको आफ्नै हो वा त्यसमा अरुको अंश पनि छ ? यदि कांग्रेस आफूलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफूले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन ? साँवा, सापटी, ब्याज सबै एक्लै कांग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?

‘यदि गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धनभित्रका दलहरूबीच के कसरी अंशबण्डा भएको छ ? त्यो ती दलहरुको आन्तरिक विषय हो ।’ रिमालको तर्क छ, ‘यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो ।’