राष्ट्रपतिलाई मदन भण्डारीकै शैलीमा विष्णु रिजालले गरे कटाक्ष - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

राष्ट्रपतिलाई मदन भण्डारीकै शैलीमा विष्णु रिजालले गरे कटाक्ष



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था चर्चा र विवादको रुमल्लिएको बेला नेपाल कम्युनिस्ट पार्टीकै नेता तथा कार्यकर्ताले नै कटाक्ष गर्न थालेका छन् । नेकपाकै केहि नेताहरूले राष्ट्रपति र राजतन्त्र एउटी बाटोमा हिँडेको भन्दै व्यंग्य गरेका छन् ।

राष्ट्रपति भण्डारीकै पति स्वर्गीय मदन भण्डारीले तत्कालिन राजसंस्थाप्रति गरेको विद्रोहको स्मरण गर्दै कतिपयले मदन भण्डारीका भाषण र बिरोधको स्मरण गराएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार सत्तारुढ नेकपाका दर्जन स्थायी कमिटी सदस्यहरूलाई बैठक चलिरहेकै समयमा शीतल निवासमा डाकेर भोज बैठक गरेपछि चर्को विरोध भैरहेको छ ।

राष्ट्रपतिको उक्त सक्रियताप्रति नेकपाकै नेताहरू राष्ट्रपतिविरुद्ध खनिन थालेका छन् ।खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू राष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताप्रति चर्को रूपमा उत्रिएका छन् ।

केहि नेताहरूले संवैधानिक राष्ट्रपतिले आफ्नो मर्यादा बिर्सेर कार्यकारी बन्न थालेको आरोप लगाएका छन् ।

यसै क्रममा नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले आइतबार बिहान ट्विटमार्फत राष्ट्रपति भण्डारीलाई कटाक्ष गरेका छन् ।

उनले तत्कालीन एमाले महासचिव मदन भण्डारीले राजा वीरेन्द्रलाई भाषणमा दिएको चुनौती उल्लेख गर्दै राष्ट्रपतिलाई कटाक्ष गरेका हुन् ।

त्यसबेला मदन भण्डारीले भनेका थिए, ‘महाराज आँखा नचम्काइबक्सियोस्, हात नलम्काइबक्सियोस्, राजनीति गर्ने रहर छ भने श्रीपेच फुकालेर मैदानमा आए हुन्छ, मदन भण्डारी चुनाव लड्न तयार छ ।’ नेता रिजालले राष्ट्रपति भण्डारीप्रति मदनको अभिव्यक्ति लक्षित गर्दै लेखेका छन्, ‘लोकतन्त्रमा सबै आ–आफ्नो थान्कोमा बसेको राम्रो ।’

रिजालले राष्ट्रपतिको यो सक्रियता ठ्याक्कै राजतन्त्रसँग मिलेको प्रसङ्ग निकाल्दै राजनीति गर्न मन भए राष्ट्रपति छाडेर मैदानमा उत्रिन आग्रह गरेका छन् ।

यस्तो छ उनको ट्वीट