रेशम चौधरीको रिहाईको लागि अनसन - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

रेशम चौधरीको रिहाईको लागि अनसन



जेलमा रहेका रेशम चौधरीको रिहाईको लागि थरुहट थारुवान मोर्चाले फागनु १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ।

सङ्घीय सांसद तथा थारु नेता रेशम चौधरीको रिहाइ र २०७२ भदौ ७ गते भएको टिकापुर घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने मागसहित मोर्चाले अनसनलगायत अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

मोर्चाका केन्द्रीय सदस्य लक्ष्मण थारुको नेतृत्वमा अनसन बस्ने थारु कल्याणकारिणी सभा कैलाली अध्यक्ष माधव चौधरीले बताए। उनका अनुसार संघर्ष समितिले फागुन २ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। त्यसैगरी ५ गतेदेखि तीन दिनसम्म आमहड्ताल गरिने थारु नेता लक्ष्मण चौधरीले बताए।

राज्य पुनर्संरचनामा आफूहरूलाई वेवास्ता गरेको बताउँदै थारुले सो माग पूरा गर्न दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम तय गरिएको बताए। मोर्चाले १४ बुुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार सांसद रेशम चौधरीलगायतलाई अदालतले दोषी ठहर गरी जेलमा रहेका थारु नेताको रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्मा संयोजकत्वको समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदनहरू सार्वजनिक गर्न माग गरिएको छ।

आफूहरूलाई सूचनाको अधिकारबाट वञ्चित गरिएको भन्दै संयोजक थारुले प्रतिवेदनहरू सार्वजनिक गरिनुपर्ने माग राखे।

टिकापुर घटनापश्चात भदौ ८ गते प्रशासनबाट कर्फ्यू लगाई प्रहरीले थारुहरूको घर, पसल तथा व्यावसायिक केन्द्रमा गरेको आगजनी, लुटपाट तथा चोरीमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको मागका लागि आन्दोलन थालिएको थारुले बताए।

उनले थरुवान राज्यका लागि कैलाली कञ्चनपुरलाई स्वायत्त राज्य बनाउनुपर्ने माग आफूहरूको यथावत रहेको बताए। वर्तमान सुदूरपश्चिम प्रदेश आफूहरूलाई अमान्य रहेको बताउँदै मोर्चाले पहिचानको आधारमा ११ प्रदेश कायम गरी राज्यको पुनःसंरचना गरिनुपर्ने माग गरेको छ।