पैसा फिर्ता गराइमाग्न प्रधानमन्त्रीलाई ताकेता
काठमाडौँ –
एक जना अभिभावकले काठमाडौँ मेडिकल कलेजले एमबीबीएसका लागि निर्धारितभन्दा बढी शुल्क लिएको भन्दै बढी शुल्क फिर्ता गराइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। विश्व थापाले आफ्नो ठेगाना नखुलाई ओलीलाई खुला पत्रमार्फत् शुल्क फिर्ता गराइदिन आग्रह गरेका हुन्।
उनले दिएको निवदेनमाथि प्र.म. कार्यालयले आवश्यक प्रक्रिया सुरु गरेको छ। निवदेनमा उनले लेखेका छन्, ‘‘काठमाडौँस्थित मेडिकल कलेजले ट्युसन फि (शुल्क) मात्रै ४९,७३,००० रुपैयाँ लियो। ३८,५०,००० होला भनेर घर बेचेर छोरालाई भर्ना गरेँ। ट्युसन फि, होस्टेल चार्ज, खाना र अन्न गरी ६० लाखभन्दा बढी पुग्ने देखियो। अब बचेको सम्पत्तिले पनि नपुग्ने भएपछि हामीलाई मर्नु न बाँच्नु भएको छ।’’ गत चैत ३ गते थापाले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्न निवेदन दर्ता गराएका थिए।
थापाले तोकिएको ३८,५०,००० हजारभन्दा बढी लिइएको सबै रकम फिर्ता गराइदिन आग्रह गरेका छन्। थापाले पत्रमा २०७५ सालमा चिकित्सा शिक्षा विधेयक पास भएपछि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको शुल्क बराबर हुन्छ भन्ने सोचेको तर शुल्क फरक पाइएको गुनासो समेत गरेका छन्।
पत्रमा थापाले प्रधानमन्त्रीको प्रशंसा गर्दै लेखेका छन्, ‘‘हजुरजस्तो प्रधानमन्त्री पाएर हामीमात्रै होइन, देशकै गर्व भएको छ। हजुरजस्तो इमानदार, सक्षम, पराक्रमी र उच्च बौद्धिकस्तरको प्रधानमन्त्री अब भविष्यमा विरलै होला। हाम्रो जीवनमा आइपरेको समस्यालाई समाधान गरिदिनुहुनेछ भन्ने आशा लिएको छु।’’
प्र.म. कार्यालयले थापाको पत्रका आधारमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन गृहमन्त्रालय र शिक्षा मन्त्रालयलाई निर्देशनसमेत दिइ सकेको छ। प्र.म. कार्यालयबाट प्राप्त पत्रको आधारमा गृहमन्त्रालयले घटना अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउनका लागि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र पठाइसकेको छ।