भरतपुरमा रेनुले लिइन् विजयले भेट्टाउनै नसक्ने अग्रता - Himal Post Himal Post
  • ३ फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 15 2025
Logo

भरतपुरमा रेनुले लिइन् विजयले भेट्टाउनै नसक्ने अग्रता



चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले करिब चार हजार मतको अग्रता लिएकी छन्।

शुक्रबार राति मध्यरात सम्मको मतगणनामा दाहालले उक्त अग्रता हासिल गरेकी हुन्।

अहिलेसम्म त्यहाँ ६४ हजार १ सय ८५ मतगणना भएकाेमा गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी दाहालले २४ हजार ६ सय ६० मत ल्याएकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २० हजार ६ सय ६३ मत पाएका छन्।

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८ सय ४० मत ल्याएका छन्।

उपमेयरमा गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७ सय ९४ मत पाएका छन् भने एमालेको समर्थन रहेको राप्रपाकी हिमला गुरूङले १६ हजार १ सय ६९ मत ल्याएकी छन्।

भरतपुरमा अहिलेसम्म १ देखि १२ नम्बर वडासम्मको मतगणना सकिएको छ भने १३ र १४ को गणना जारी छ।

एमाले भरतपुरकै नेताहरूले अब ३ हजार भन्दा बढीको अग्रता विजय सुबेदीले भेट्टाउनै नसक्ने बताइसकेका छन् । एमालेको गढ मानिएका एरियामा समेत रेनुले अग्रता लिएपछि एमलेका नेताहरूले जित्ने आशा नभएको बताउन थालेका छन् ।