सीईओ रेग्मीलाई मन्त्री आलेले साँढे भनेपछि… - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सीईओ रेग्मीलाई मन्त्री आलेले साँढे भनेपछि…



काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनका क्रममा रहेका बोर्डका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरे।

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए। उनले सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए।

मन्त्री आलेले भने, ‘अब यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ। अब त्यो साँढे कस्ते हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ। त्यहाँ बुढापाका, बालबालिकाहरु आउनुभएको छ। त्यतिबेला बधाई दिन आउनुभएको छ। अनि मन्त्रीसँग मेरो क्लाइमेक्स मिल्दैन। क्लाइमेक्स मिल्न त मैले जाँड खाने हुनुपर्छ। यहाँबाट म लण्डनको प्रोग्राममा गएँ। म जाँदै जाँदिन भन्दा जाउँ हजुर भने। त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भनेर जबरजस्ती गरेर लगे। त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ । भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो। त्यो फोरममा बोल्ने इच्छा थियो। तर त्यो साँढेले केही पनि छैन, बोल्ने कार्यक्रम मन्त्रीज्यू भन्छ। त्यहाँ जान्छु १७ देश जतिका मन्त्रीहरु राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन्। म आउट अफ रिङ छु। एउटा देशको मन्त्री यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो। लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त? त्यो त व्यवस्थापनले गर्ने कुरा हो। अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो। अब यस्तो साँढेलाई सीईओ हामीले बनायौँ भने संस्था चल्छ?’

मन्त्रीले आलेले थपे, ‘जाउँ हिँड्नुस् रक्सी खान भने। त्यस्तो साँढेलाई ल्याएर सीईओ बनाएपछि संस्था चल्छ? म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् म नखाने मान्छे साइडमा उभिरहेँ। हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ। आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ। उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई। ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला। त्यो सपनामा पनि नसोचे हुन्छ। इमान बेचेर म यो चियरमा बस्नेवाला छैन।’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तर्गतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए। उनले पहिला काले काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने बताए। मन्त्री आलेले भने, ‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन्। यस्ता यस्ता विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ। म आईसकेपछि पर्यटन विभागमा भर्खरै हाम्रो डिजीसाब आउनु भएको थियो। उहाँलाई पनि थाहा थिएन। टेण्डर एउटा अनाउन्स भयो। त्यो टेण्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेण्डर पाउने। फस्टमा टेण्डर निस्क्यो, एउटाले टेण्डर बिड गर्छ उसले ठेक्का पायो। दोस्रो वर्ष टेण्डर निकाल्दा जसले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने। तेस्रो वर्ष पनि उसैले। मलाई एक लस्कर ठेकेदारहरुले भने– हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौं। तर हामीले पर्यटन विभागको टेण्डरमा १५ करोडको ठेक्का लिन हामीलाई आउट गरिदियो। जम्मै सेटिङको काम छ भन्छन्। त्यसपछि मैले इमिडेट्ली क्यान्सिल गराएँ।’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे। उनले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताए। मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिए।