रेडक्रसद्वारा प्रारम्भिक द्रुत लेखाजोखा अभिमुखिकरण तालिम सम्पन्न - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रेडक्रसद्वारा प्रारम्भिक द्रुत लेखाजोखा अभिमुखिकरण तालिम सम्पन्न



गोविन्द बीसी /धनगढी ।
कैलालीको धनगढीमा प्रारम्भिक द्रुत लेखाजोखा अभिमुखिकरण सम्बन्धी २ दिने तालिम शनिबार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली र जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको जिल्ला विपद व्यवस्थापन समिति कैलालीको आयोजनामा अभिमुखिकरण कार्यक्रम भएको हो ।

तालिम समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति एवम् केन्द्रीय सदस्य उत्तम जोशी, टीकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरी , नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैना लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै सभापति जोशीले विपदबाट भएको क्षतिको तथ्यांकलाई चाडो भन्दा चाडो जानकारी दिनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तालिममा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४, विपद प्रारम्भिक द्रुत लेखाजोखा फारम र त्यसका आधारमा तयार पारिएको मोबाइल एप्लिकेसन लगायतका विषयमा छलफल गरिएको थियो ।

तालिममा विपदपछि तत्काल तथ्यांक संकलनका लागि तयार पारिएको मोबाइल एप्लिकेसन मार्फत लेखाजोखा फारमको प्रयोग सम्बन्धी फिल्ड अभ्यास समेत गरिएको जिल्ला आपतकालिन कार्य संचालन कैलालीका सूचना व्यवस्थापन अधिकृत चेतन खडकाले जानकारी दिए ।

तालिममा नेपाल रेडक्रस सोसाइटी कैलाली अन्तर्गतका उपशाखाका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि गरि ५२ जनाको सहभागिता रहेको थियो ।