विभिन्न कार्यक्रम गरि कैलालीमा रेडक्रस दिवस मनाइयो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विभिन्न कार्यक्रम गरि कैलालीमा रेडक्रस दिवस मनाइयो



कैलाली । विश्व रेडक्रस दिवस आज कैलाली जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।
रेडक्रसका संस्थापक जां हेनरी ड्युनाको जन्मदिन पारेर हरेक वर्ष मे ८ मा मनाउदै आएको विश्व रेडक्रस दिवसको यस वर्षको मुल नारा “ताली बजाउनुहोस” भन्ने रहेको छ ।
विश्व रेडक्रस दिवसका अवसरमा कैलाली जिल्लामा समेत विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

रेडक्रस दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले निबन्ध लेखन प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कोरोना महामारीको संकट र यसको रोकथामका लागि जुरेस तथा युरेसको भुमिका भन्ने शिर्षकमा अनलाइनबाट आयोजना गरिएको प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा रोहन तिमिल्सैनाले प्रथम , प्रकाश अधिकारीले दोस्रो, मदन तिमिल्सैनाले तेस्रो र दुर्गा साउदले सान्त्वना स्थान प्राप्त गरेका छन । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई आज आयोजित कार्यक्रममा नगद सहित पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । दिवसकै अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उपशाखाका पदाधिकारी तथा सदस्यहरुले आ- आफना धारणा समेत राख्नुभएको उपशाखा सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिए ।

दिवसकै अवसरमा उपशाखाले कोरोना भाइरस कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर मानव सेवाका लागि काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी त पत्रकारलाई विद्यमान संकटमा प्रदर्शन गरेको सेवाभाव, त्याग र समर्पणको सम्मान गर्दै लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा भल्का, लम्कीचुहा अस्पताल, इलाका प्रहरी कार्यालय लम्की र चिसापानी , नेपाल पत्रकार महासंघ कैलाली र शसस्त्र प्रहरी अस्थायी बेस क्याम्प डुडेझारीलाई सम्मान पत्र समेत प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलालीका कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय रहेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका उपकोषाध्यक्ष तथा किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाह, उपशाखा सदस्य विष्णुप्रसाद खनाल , विशिष्ट सदस्य सरिता चौधरी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका कोषाध्यक्ष प्रेमराज मुडभरीले स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन सचिव बिनोद आचार्यले गरेका थिए ।
दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाले सिमा सुरक्षा बल र वडा प्रहरी कार्यालयलाई सामग्री वितरण गरेको छ ।

उपशाखाले विश्व रेडक्रस दिवसका अवसरमा सिमा सुरक्षा बल धनगढीलाई ५ सय पिस मास्क, ५ सय पिस ग्लोब्स, ४८ थान सेनिटाइजर र ३ थान बाल्टी वितरण गरेको छ भने वडा प्रहरी कार्यालय धनगढीलाई समेत ५ सय पिस मास्क, ५ सय पिस ग्लोब्स र ४८ थान सेनिटाइजर वितरण गरेको उपशाखा सभापति धर्मराज जोशीले जानकारी दिए ।

त्यसैगरी दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रतापपुर उपशाखाले वडा नम्बर ७ र ९ लाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान पत्र प्रदान गरेर मनाएको छ । उपशाखाले सहयोगीदाता हेमाङगराज गिरी र जीवनराज गिरीबाट ४० परिवारका लागि प्राप्त भएको खाद्यान्न सामग्री वडा नम्बर ७ का वडा अध्यक्ष हरिराम चौधरी र वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद चौधरीलाई हस्तान्तरण गरिएको उपशाखा सभापति खडक चौधरीले जानकारी दिए ।

दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले सेती प्रादेशिक अस्पताललाई एक सय थान मास्क र ५ लिटर सेनिटाइजर वितरण गर्नुका साथै रेडक्रसका संस्थापक हेनरी ड्युनाको तस्बिरमा मल्यार्पण गर्दै दिवस मनाएको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशी, मन्त्री लोकराज जोशी, शाखा विकास अधिकृत इश्वरदेव जोशी, कार्यक्रम अधिकृत नरेन्द्र भट्ट लगायतकाको उपस्थिति रहेको थियो ।