रियल मड्रिडको सपना टुट्यो ! - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

रियल मड्रिडको सपना टुट्यो !



स्पेनिस ला लिगा फुटबलमा यो सिजन दोस्रो हुन संघर्ष गरिरहेको गएको सिजनको विजेता रियल मड्रिड लिग अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । यो बराबरीले रियल तेस्रो स्थानमै सीमित हुन बाध्य भयो ।

सिजनको अन्तिममा आएर पनि रियल मड्रिडले लिगमा चाहिएको जति राम्रो गर्न सकेन । लिगको ३८ औँ खेलमा सुरुमा दुई गोलको अग्रता लिएर पनि रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–२ को बराबरीमा रोकिएको हो ।

रियल मड्रिडका लागि पहिलो हाफमा ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोले गोल गरे । तर पहिलो हाफमा लिएको अग्रता भ्रमण टोली रियल मड्रिडले दोस्रो हाफमा जोगाउन सकेन ।

भिल्लारियलका लागि मार्टिनेज र कास्टिलेजो एजुएगाले गोल गरे । ११ औँ मिनेटमा बेलले गोल गर्दै जिनेदिन जिदानको टिमलाई सुरुवाति अग्रता दिलाए । ३२ औँ मिनेटमा स्टार स्ट्राइकर रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

रोनाल्डो यो महिनाको सुरुमा भएको एल क्लासिकोमा चोटग्रस्त भएपछि पहिलो पटक मैदानमा आएका हुन् । दोस्रो हाफमा भने भिल्लारियलले गोल गरेर रियललाई जित्न दिएन ।

७० औँ मिनेटमा मार्टिनेज तथा ८५ औँ मिनेटमा कास्टिलेजोले गोल गरे । मे २६ मा किएभमा हुने लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलको तयारीमा रहेको रियल मड्रिडले घरेलु लिगमा राम्रो प्रदर्शन गर्न सकेन ।

बराबरीपछि तेस्रो स्थानको रियल मड्रिडको लिगमा ७६ अंक भएको छ । उ तेस्रो स्थानमै रहेर सिजन टुंगिने भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७८ अंक छ र उसले एक खेल खेल्न बाँकी छ ।

राति भएका अरु खेलमा सेल्टा डी भिगाले लेभान्टेलाई ४–२, लेगानेसले रियल बेटिसलाई ३–२, जिरोनाले लास पालमसलाई २–१, गेटाफेले मालागा तथा सेभिल्लाले एलाभेसलाई समान १–० ले हराएका छन् ।